२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

झापामा तीनजना चढेको तीव्र गतिको मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु


बिर्तामोड, असार ६ । झापाको झापा गाउँपालिकास्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।

तीव्र गतिमा रहेको सो मोटरसाइकल चालक झापा-४ का २४ वर्षीय इनरुल भन्ने फकिर अलीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोटरसाइकलको पछाडि चढेका २२ वर्षीय साहिदुल हक र २१ वर्षीय सोहिल मिया घाइते भएका थिए ।

हकको उपचारका क्रममा बिएन्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुईजना घाइतेहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहेमा दाइजो आएको सो मोटरसाइकलमा तीनजना चढेर तीव्र गतिमा चलाउँदा दुर्घटना भएको स्थानीयबासीले झापा टुडेलाई जानकारी दिएका छन् ।

झापा-४ चौधरीटोलस्थित हुलाकी सडकखण्डमा आज बिहान ११ः३५ बजे पन्थापाडाबाट झापा बजारतर्फ जाँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

सो मोटरसाइकल हिजो मात्र दाइजोको रुपमा आएको बताइएको छ । बेहुलाका साथीहरुले सो मोटरसाइकल चलाएका थिए । मोटरसाइकलको प्लेट नम्बरसमेत नलेखिएको प्रहरीले बताएको छ ।

Adv footer