२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

ब्राउन सुगर लिन काठमाडौँबाट झापासम्म, दुईजना कारसहित पक्राउ


बिर्तामोड, असार ८ । झापाको भद्रपुरमा ठुलो परिमाणमा भारतबाट कारमा लागुऔषध लिएर आउँदै गरेका दुईजना युवायुवती प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका वडा नम्बर २६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका वडा नम्बर ७ बस्ने २२ वर्षीया नोजिना रानामगर रहेका छन् ।

उनीहरुलाई हिजो दिउँसो १ः३० बजे गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहान र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेस लामिछानेको टोलीले पक्राउ गरेको हो ।

प्रहरी टोलीले भद्रपुर-५ स्थित भन्सार चोकमा भारतबाट नेपालतर्फ आइरहेको बा.प्र ०१–०३० च ७७९३ नम्बरको नेटा कम्पनीको ब्लु रंगको कारलाई पनि नियन्त्रणमा लिएको छ ।

चालक कुँवरले कालो प्लास्टिकमा प्याक गरेर आफू बस्ने सिटमा राखेर त्यसमाथि बसेर लुकाईछिपाई ल्याइरहेको अवस्थामा लागुऔषध ब्राउन सुगर फेला परेको थियो ।

उनीहरुको साथबाट ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । सो ब्राउन सुगरसहित कार चालक कुँवर र कारमा सवार रानामगरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

Adv footer