
बिर्तामोड, असार ९ । झापाको बिर्तामोड नगरपालिका–८ मा जंगली हात्तीको आक्रमणबाट भाग्दा एकजना मानिस घाइते भएका छन् ।


प्रहरीका अनुसार हात्ती आक्रमणमा जोगिन भाग्दा बिर्तामोड –८ शुक्रबारे टोलका ५५ वर्षीय सुफल मर्डीे रहेका छन् ।

उनको अनुहारमा चोट लागेको छ । घाइते मर्डीलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रही कार्यालय झापाले जनाएको छ ।

हात्तीको समूहले धनमाल क्षतिसमेत गरेको छ । आज बिहान ४ बजे ३–४ वटाको संख्यामा आएका हात्तीको समूहले मर्डीेको घरको बाँसको टाटीबेरा भत्काएको छ ।
सोही हात्ती समूहले ५६ वर्षीय कृष्णप्रसाद उप्रेतीको सिमेन्टको पर्खाल भत्काएर अन्दाजी ५० हजार बराबरको क्षति गरेको छ ।


त्यस्तै, ४३ वर्षीया शिवकुमारी मगरको आँगनमा राखिएको भकारीबाट अन्दाजी सय किलो चामल खाएर नष्ट पारेको प्रहरीले जनाएको छ । हात्ती समूह सोही स्थानको देउनिया खोलातर्फ भागेको जनाइएको छ ।
