बिर्तामेड, असार ११ । झापा बिर्तामोडकी अर्की एकजना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ भेरिएन्ट फैलिएयता बिर्तामोडमा दुईजना महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

आज दिउँसो बिर्तामोड १ बस्ने ३५ वर्षीया महिला बिरामी भई बिर्तासिटी अस्पतालमा कोभिड जाँच गराउँदा उनलाई पोजेटिभ देखिएको हो । ती महिलाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएको छ ।

यसअघि पहिलोपटक गत जेठ ११ गते बिर्तामोड ५ की ५२ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल प्रवेश गरेका दोलखाका ४७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, तीन दिनअघि मेचीनगर ९ का ४३ वर्षीय पुरुषलाई कोरोना देखिएको छ । नयाँ भेरिएन्ट फैलिएयता एक महिनाको अवधिमा झापामा चारजनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ भेरिएन्ट फैलिएयता देशमै पहिलो पटक कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ । सूर्योदय १० फिक्कलकी ४९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।


नेपालमा पुसयता २५ जिल्लाबाट १८८ जनामा कोरोना पुष्टि भएका छन् । कोरोना संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा १४७, सुदूरपश्चिम प्रदेशमा २१, कोशी प्रदेशमा आठ, मधेश प्रदेशमा पाँच र गण्डकी प्रदेशमा तीनजना छन् ।
