२०८२ असार १२ बिहीबार
Jhapa Today
Adv top

मानव–हात्ती द्वन्द्व कम गर्न वन मन्त्रालयले काम गर्दै


बिर्तामोड, असार १२ । वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्ने भएको छ ।

त्यसका लागि साझा धारणा बनाउन मन्त्रालयले सम्बन्धित विकास साझेदार संस्थासँग अन्तरक्रिया गरी सुझाव सङ्कलन गरेको छ । साझेदार संस्थाको सहयोग र समन्वयमा आधुनिक प्रविधिका साथ स्थानीय सहभागितामा परियोजना बनाएर तत्काल कार्यान्वयन गरिनेछ ।

वनमन्त्री ऐनबहादुर शाही ठकुरीले पछिल्लो समय हात्तीका कारण मानवीय, कृषि पशु तथा बाली र घरगोठमा क्षति हुने क्रम बढेकाले समाधानका लागि सरोकारवालासँग साझा धारणा बनाइ अघि बढ्ने बताए ।

बितेको २५ वर्षमा हात्तीको आक्रमणबाट नेपालमा ३४५ जनाको ज्यान गएको छ भने मानिसको आक्रमणबाट तथा करेन्ट लागेर ५५ हात्ती मरेका छन् । यसबाहेक हरेक वर्ष हात्तीबाट कृषि पशु तथा बाली र घरगोठको क्षति हुने गरेको छ ।

पछिल्लो तथ्यांकअनुसार हाल नेपालमा ३३० जङ्गली हात्ती र सरकारी तथा निजी रुपमा पालिएका १८० हात्ती रहेका छन् ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ नेपालका राष्ट्रिय प्रतिनिधि डक्टर नरेन्द्रमानबाबु प्रधानले सचेतनामार्फत स्थानीयको व्यवहार प्रतिवर्तन गर्न सके मात्र हात्तीका कारण हुने मानवीय क्षति ७० प्रतिशतसम्म कम गर्न सकिने तर्क गरे ।

वन मन्त्रालयले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि क्षति पु¥याउने हात्तीलाई सुरक्षित ठाउँमा प्रवेश गराउने, उद्धार र उपचार, क्षतिका लागि राहतको व्यवस्था, सचेतना कार्यक्रम, फेन्सिङ तारबार, मृतकका परिवारलाई रोजगार र छात्रवृत्ति, वैकल्पिक खेतीको प्रोत्साहनलगायत काम गर्दै आएको छ ।

नेपालमा हात्तीबाट सबैभन्दा प्रभावित जिल्ला झापा हो । झापाको मेचीनगर, बुद्धशान्ति, भद्रपुर, बिर्तामोड र हल्दिबारीमा हात्तीले मानवीय तथा भौतिक क्षति पुर्‍याउँदै आएको छ ।

Adv footer