
बिर्तामोड, असार १३ । अब कक्षा १ भन्दाअघिको प्रारम्भिक बालविकास कक्षा (इसिडी) २ वर्षको हुने भएको छ । शुक्रबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा इसिडी कार्यक्रम दुवै प्रकारका विद्यालयमा २ वर्षको रहनेमा सांसदहरूले सहमति जुटाएका हुन् ।

शिक्षा विधेयकमा दलहरूबीच सहमति जुटेसँगै इसिडी विद्यालय संरचनाभित्र समेटिएको छ । स्रोत सुनिश्चित गरी सरकारले तोकेको मितिदेखि लागु हुनेगरी सार्वजनिक विद्यालयमा प्रारम्भिक बालविकास तथा शिक्षालाई दुईवर्षे कार्यक्रमका रूपमा सञ्चालन गर्न सकिने समितिले जनाएको छ ।

’कुनै पनि विद्यालयले पूर्व प्राथमिक शिक्षालाई दुई वर्षभन्दा बढी अवधि हुनेगरी सञ्चालन गर्न पाउने छैनन्,’ समिति सभापति अम्मरबहादुर थापाले विधेयकको व्यवस्था पारित भएको उल्लेख गर्दै भने ।

सभापति थापाका अनुसार हाल कार्यरत प्रारम्भिक बाल विकास तथा शिक्षामा बाल विकास सहजकर्तालाई खुला प्रतियोगिताबाट हुने परीक्षामा पहिलोपटक सहभागी हुन उमेरको हद लाग्नेछैन ।

साथै, यो ऐन र प्रचलित अन्य कानुनमा जुनसुकै कुरा लेखिए पनि प्रारम्भिक बाल विकास तथा शिक्षाको अनुभव नभएका बालबालिकालाई कक्षा १ मा भर्ना गर्नबाट वञ्चित गर्न नपाइने र ऐन प्रारम्भ भएदेखि बाल सहजकर्ताका रूपमा नियुक्ति हुन कम्तिमा कक्षा १२ वा सो सरह परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ ।


सभापति थापाका अनुुसार ऐन प्रारम्भ भएपछि नियुक्ति हुने बाल सहजकर्ता सेवा प्रारम्भ गर्नुअघि स्थानीय कानुनमा व्यवस्था भएबमोजिम सेवा प्रवेश तालिम लिनुपर्नेछ ।

शुक्रबारको बैठकमा सांसदहरूले बालविकास क्षेत्र मानव जीवनको सबैभन्दा सुरुको चरण रहेको बताउँदै यसलाई विद्यालय शिक्षाभन्दा बाहिर राख्न नहुनेमा जोड दिएका थिए ।
यसअघि इसिडी सञ्चालनमा सामुदायिक र निजी विद्यालयमा फरकफरक अवधि राख्ने प्रस्ताव अघि सारिएको थियो । सामुदायिक विद्यालयले दुई वर्षसम्म र निजीले जति वर्ष पनि सञ्चालन गर्न सक्ने व्यवस्था विद्यालय शिक्षा विधेयकमा प्रस्ताव गरिएको थियो । फरकफरक अवधि हुँदा बालबालिकामाथि विभेद हुने तर्क सांसदहरूले गर्दै आएका थिए ।
हाल सामुदायिक विद्यालयमा १ वर्षे र निजीमा ३ देखि ४ वर्षसम्म इसिडी कक्षा सञ्चालन हुँदै आएको छ । उक्त विषयमा छलफल गर्न एमाले सांसद छविलाल विश्वकर्मा संयोजकत्वमा बनेको उपसमितिले सामुदायिक र निजी दुवै विद्यालयमा इसिडीलाई दुईवर्षे बनाउने सहमति गरी प्रतिवेदन पेस गरेको थियो ।