
बिर्तामोड, असार १४ । पूर्वी तराईको व्यापारिक केन्द्र बिर्तामोडमा स्वास्थ्य र पर्यटन क्षेत्रलाई एकीकृत गर्ने महत्वाकांक्षी अभियानअन्तर्गत आज दोस्रो संस्करणको हेल्थ टुरिजम मार्ट हुँदैछ ।


आज बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना हुने कार्यक्रमले स्वास्थ्य सेवा प्रदायकदेखि होटल व्यवसायीसम्मका सहभागीहरूले साझा मञ्च पाउनेछन् । कार्यक्रममा हालसम्म ५० वटा स्टल रहनेछन् ।

नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स संघ (नाट्टा) कोशी प्रदेशका महासचिव नविन खरेलका अनुसार बुक भएका स्टलमध्ये २४ वटा अस्पताल, तीन ल्याब, दुई कलेज, ११ होटल, पाँच होमस्टे, दुई पार्क, एक धार्मिक संस्था र एक एअरलाइन्स कम्पनी छन् ।

८ लाख रुपैयाँको अनुमानित बजेटमा सम्पन्न हुने यो एकदिने महोत्सवमा अवलोकनकर्तालाई निःशुल्क प्राथमिक उपचार, औषधि वितरण तथा विशेषज्ञ सल्लाह दिइने नाट्टाका वरिष्ठ उपाध्यक्ष तथा मार्ट संयोजक शेखर ढकालले बताए ।
त्यस्तै, मार्टमा बृहत रक्तदान कार्यक्रम र कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको फोटो प्रदर्शनी पनि विशेष आकर्षण बन्नेछ ।


विषयगत छलफल र रणनीतिक सहकार्य
कार्यक्रममा सीमापार पर्यटन र झापाको स्वास्थ्य पर्यटनको सम्भावनालाई लिएर विशेषज्ञबीच समूहगत छलफल हुनेछ । यसले भारत, बंगलादेश, भुटानलगायतका छिमेकी राष्ट्रलाई पूर्वी नेपालमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्भावनालाई टेवा पु¥याउने विश्वास गरिएको छ ।

कार्यक्रम संयोजक ढकालका अनुसार हेल्थ टुरिजम मार्टले अस्पताल, क्लिनिक, आयुर्वेद केन्द्र, ट्राभल एजेन्सी र होटल व्यवसायीबीच सहकार्य र नेटवर्क विस्तार गर्ने लक्ष्य लिएको छ ।

स्थानीय सरकार र निजी क्षेत्रबीच नीति निर्माण र कार्यान्वयनको प्रारम्भिक आधार निर्माण गर्न समेत यस कार्यक्रमले योगदान दिनेछ ।
रोजगारी, आम्दानी र दिगो विकासको सम्भावना
मार्टले स्वास्थ्य र पर्यटन क्षेत्रलाई एक अर्काको पूरक बनाउँदै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ । होटल, यातायात, रेस्टुरेन्ट, उपचार केन्द्रलगायत क्षेत्रहरूमा रोजगारी र आय आर्जनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा नेपाल र भारतका सञ्चारकर्मी, योजनाकार, पर्यटन विज्ञ, बिर्तामोड नगरका प्रतिनिधि र स्वास्थ्य तथा पर्यटन क्षेत्रका व्यवसायीहरूको सहभागिता रहनेछ ।
संस्थागत सहकार्य
नेपाल पर्यटन बोर्डको आयोजना, पर्यटन कार्यालय काँकरभिट्टाको सहआयोजनामा हुने उक्त कार्यक्रम बिर्तामोड नगरपालिका, नाट्टा कोशी प्रदेश, होटल व्यवसायी संघ झापा र पर्यटन पत्रकार मञ्च झापाको सहकार्यमा सम्पन्न हुँदैछ ।
कोशी पर्यटन वर्ष मनाइरहेको अवसरमा बिर्तामोडमा आयोजना हुन लागेको हेल्थ टुरिजम मार्ट पूर्वी नेपाललाई ‘हेल्थ टुरिजम हब’ का रूपमा चिनाउने दिशामा महत्वपूर्ण बन्ने आयोजकहरूको विश्वास छ ।