
बिर्तामोड, असार १५ । दुईवटा प्यानल डिस्कसनसहित दोस्रो संस्करणको हेल्थ टुरिजम मार्ट सम्पन्न भएको छ । स्वास्थ्य र पर्यटनलाई जोड्दै बिर्तामोडमा मार्ट सम्पन्न भएको हो ।


कार्यक्रममा क्रस बोर्डर टुरिजम र स्वास्थ्य पयर्टनका बारेमा प्यानल छलफल चलाइएको थियो । क्रस बोर्डर टुरिजमका विषयमा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सहजकर्ताको भूमिका निभाएका थिए ।

छलफलमा नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स संघ (नाट्टा) कोशी प्रदेशका पूर्वअध्यक्ष उदयकुमार श्रेष्ठ, नेपाल कांग्रेस कोशी प्रदेशसभाका प्रमुख सचेतक गोपाल तामाङ र भारतका पर्यटन व्यवसायी सम्राट सन्याल वक्ताका रुपमा भाग लिएका थिए ।

त्यस्तै, पर्यटन कार्यालय काँकरभिट्टाका अधिकृत निरोज कट्टेल सहजकर्ता रहेको स्वास्थ्य पर्यटनको छलफलमा नेत्र अधिकृत अजितकुमार ठाकुर, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक रोहिणी खनाल, भारतका पर्यटन व्यवसायी देवाशिष चक्रवती र पूर्वाञ्चल क्यान्सर अस्पतालका डा.आलोक ठाकुर सहभागी थिए ।
मार्टमा ५१ वटा स्टलहरु रहेका थिए । मार्टमा २३ वटा अस्पताल, तीनवटा ल्याब, दुईवटा कलेज, ११ वटा होटल, पाँचवटा होमस्टे, दुईवटा पार्क, एउटा धार्मिक संस्था र एअरलाइन्स थिए ।


कार्यक्रम अवलोकन गर्न आउने अवलोकनकर्तालाई महोत्सवबाटै प्राथमिक उपचार, परमर्श र औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । मार्टमा रक्तदान कार्यक्रमसमेत राखिएको थियो । कार्यक्रममा कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरुको फोटो प्रदर्शनी भएको थियो ।

कोशी पर्यटन वर्ष मनाइरहेको बेला झापाका प्रमुख अस्पताल, क्लिनिक, आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्र, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी, होटल व्यवसायीहरुको सहभागितामा मार्ट भएको नाट्टाका वरिष्ठ उपाध्यक्षसमेत रहेका कार्यक्रम संयोजक शेखर ढकालले बताए ।
कार्यक्रमले स्वास्थ्यसेवा प्रदायक, बिरामी र पर्यटन उद्योग लगायत विभिन्न सरोकारवालालाई फाइदा पुगेको नाट्टाका महासचिव नविन खरेलले बताए । कार्यक्रमले व्यापारका अवसरहरु विकास गर्ने र साझेदारी गठन गर्ने प्लेटफर्मका रुपमा काम गर्न सक्ने उनको भनाइ छ ।
हेल्थ टुरिजम मार्टमार्फत नेपालीका साथै छिमेकी राष्ट्र भारत, बंगलादेश र भुटानका नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा तथा उपचारको जानकारी र सहज पहुँचका बारेमा मार्टमा छलफल भएको ढकालले बताए ।
स्वास्थ्य सेवा र पर्यटन व्यवसायबीच सहकार्यको वातावरण सिर्जना, अस्पताल, क्लिनिक, आयुर्वेद केन्द्र, ट्राभल एजेन्सी र होटल व्यवसायीहरूबीच नेटवर्क निर्माण, नेपालका गुणस्तरीय स्वास्थ्य सेवाको प्रबर्धन गर्ने मार्टले उद्देश्य लिएको छ ।
त्यस्तै, भारत, बंगलादेश, भुटानका नागरिकहरूलाई नेपालमा उपचारका लागि आकर्षित गर्न, पूर्वी नेपाललाई हेल्थ टुरिजम हबको रुपमा परिचय गराउन, बिर्तामोड लगायत झापा, मोरङ, सुनसरी क्षेत्रका स्वास्थ्य पूर्वाधारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने मार्टको उद्देश्य रहेको छ ।
त्यस्तै, स्वास्थ्य पर्यटनसम्बन्धी नीति निर्माण र सहकार्यका लागि आधार तयार गर्न, स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाबीच सहकार्यको सम्भावना प्रस्तुत गर्न, सामुदायिक स्वास्थ्य सचेतना र प्रविधिमैत्री उपचार प्रबर्धन गर्न मार्टले भूमिका खेल्ने संयोजक ढकालले बताए ।

मार्टमार्फत स्वास्थ्य र पर्यटनको एकीकरण, दिगो विकासको सम्भावना, सीमापार स्वास्थ्य पर्यटनको सम्भावना, स्थानीय अर्थतन्त्रमा योगदान, होटल, यातायात, रेस्टुरेन्ट, उपचार केन्द्रलगायतका क्षेत्रहरूमा रोजगारी र आय आर्जनमा वृद्धि हुने जनाइएको छ ।
नेपाल पर्यटन बोर्डको आयोजना तथा पर्यटन कार्यालय काँकरभिट्टाको सहआयोजनामा भएको कार्यक्रम बिर्तामोड नगरपालिका, नाट्टा कोशी प्रदेश, होटल व्यवसायी संघ झापा र पर्यटन पत्रकार मञ्च झापाको सहकार्य रहेको थियो ।
मार्टको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले गरेका थिए । संयोजक ढकालको अध्यक्षतामा सम्पन्न मार्टको सञ्चालन नाट्टा महासचिव खरेलले गरेका थिए ।