
बिर्तामोड, असार १८ । जग्गा भएर पनि दर्ता प्रमाणपत्र नभएका झापाका ४७१ अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरणको तयारी सुरु गरिएको छ ।


मदन अधिकारीको अध्यक्षतामा गठन भएको भूमि समस्या समाधान आयोग झापाले पहिलोपटक विभिन्न पालिकाका ४७१ अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गर्न लागेको हो ।


भूमि समस्या समाधान आयोग झापाको आज बसेको बैठकले बुद्धशान्तिका १९५, अर्जुनधाराका १२८, गौरीगञ्जका ११, कनकाईका १३५ र दमकका २ भूमिहीन दलित/सुकुम्बासी र अब्यवस्थित बसोबासीलाई धनीपुर्जा दिन लागेको हो ।


जग्गा उपलब्ध गराउने कार्यविधि २०८१ को दफा (६) र भूमिसम्बन्धी नियमहरु २०२१ को २० औँ संशोधनको दफा ५ को बमोजिम जग्गाधनी प्रमाणपत्र वितरण गर्ने निर्णय गरिएको आयोगका विज्ञ लक्ष्मी आचार्यले बताए ।
बुद्धशान्ति, अर्जुनधारा, कनकाई, गौरीगञ्ज र दमकका ५४१ अव्यवस्थित बसोबासीका लागि सात दिने सूचना जारी गरिएकोमा ४७१ जनाले नियमअनुसार राजश्व दाखिला गरेका थिए ।


राजश्व तिर्ने उनीहरुलाई असार मसान्तभित्र धनीपुर्जा वितरण गरिने आचार्यले जानकारी दिए । त्यस्तै, कनकाई नगरपालिकाका भूमिहीन, दलित र भूमिहीन सुकुम्बासी ७१ परिवारलाई समेत धनीपुर्जा तयार गरी वितरण गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

त्यस्तै, बाह्रदशी, शिवसताक्षी, मेचीनगर, कमल र दमकका विभिन्न वडाहरुको फायल बनाउने काम भइरहेको आयोगको कार्यालयले जनाएको छ ।

सम्बन्धित पालिका र राजनीतिक दलहरुसँग समन्वय गरी धनीपूर्जा वितरण कार्यक्रम तय गरिने भएको छ । असार २६ देखि २९ गतेभित्र धनीपुर्जा वितरणको कार्यक्रम तय गरिएको छ ।