
बिर्तामोड, असार १९ । झापाको शिवसताक्षीमा कुटपिटबाट घाइते भएका अर्का एकजना किशोरको पनि उपचारको क्रममा मृत्यु भएको छ । कुटाइ खाने दुईजनाकै मृत्यु भएको हो ।


यसअघि शिवसताक्षी-९ का १९ वर्षीय रोमन थापाको असार १४ गते मृत्यु भएको थियो । सोही वडाको संगमचोकका १५ वर्षीय आदित्य तामाङको पनि मृत्यु भएको हो ।


तामाङको बुधबार दिउँसो १ः४५ बजे उपचारको क्रममा बिएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । तामाङको शव सोही अस्पतालमा रहेको छ ।


यसैबीच, प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शिवसताक्षी-११ का मगर थरका १५ वर्षीय र सोही ठाउँ बस्ने राई थरका १४ वर्षीय एकजना छन् ।
त्यस्तै, वडा नम्बर ९ का लिम्बू थरका १४ वर्षीय एकजना, सोही ठाउँका लिवाङ थरका १४ वर्षीय एकजना, लिम्बू थरका १३ वर्षीय र सिलवाल थरका १५ वर्षीय एकजना रहेका छन् ।


कुटपिटमा संलग्न पाँचजनालाई सोमबार राति नियन्त्रणमा लिइएको थियो भने भागिरहेका सिलवाललाई खोजतलास गर्ने क्रममा हिजो बिहान ८ बजे उनको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

असार ११ गते बिहान अन्दाजी ६ः४० बजे शिवसताक्षी-९ संगमचोक बस्ने अमर तामाङका छोरा आदित्य तामाङ स्कुलबाट ट्युसन पढेर घरतर्फ फर्कदै गर्दा राई समेत ६ जनाले वडा नम्बर ११ स्थित प्लटिङमा बोलाएर कुटेका थिए ।

तामाङ राष्ट्रिय रमणीय मावि दुधेमा कक्षा ८ मा अध्ययनरत थिए भने राई ध्रुवतारा बोर्डिङ स्कुल दुधेमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।
कुटपिट गर्नेहरुलाई पक्राउ गरी आवश्यक कारबाही माग गर्दै आदित्यका आफन्तले इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले कुटपिटमा संलग्नहरुलाई पक्राउ गरेको थियो ।