
बिर्तामोड, असार २० । बिर्तामोड उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’ को कार्यविधि सार्वजनिक गरेको छ ।


एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको यस कोषमा हालसम्म २० लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको संघले जनाएको छ ।


बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले कोष सञ्चालनको प्रक्रिया र उद्देश्यबारे जानकारी दिएको हो । संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’ले कोषको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


उनका अनुसार हालसम्म ५६ जना दाताबाट कोषमा २० लाख ४५ हजार १९१ रुपैयाँ जम्मा भइसकेको छ । व्यवसायीहरूले आफ्नो जन्मदिन, वैवाहिक वर्षगाँठ, पितृको स्मृति जस्ता अवसरमा कोषमा उत्साहपूर्वक सहयोग गर्दै आएको संघले जनाएको छ ।
यस अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमलाई प्राकृतिक प्रकोपबाट प्रभावित वा प्राणघातक रोग लागेका सदस्य व्यवसायीहरूको सहयोगमा पारदर्शी ढंगले खर्च गरिने कार्यविधिमा उल्लेख छ ।


कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले यो अभियान व्यवसायीहरूको आपसी सहयोग र सद्भावको उत्कृष्ट उदाहरण भएको बताए । उनले एक करोडको लक्ष्य पूरा गर्न सबै व्यवसायीलाई निरन्तर सहयोगका लागि अपिल समेत गरे ।

संघका विशिष्ठ सदस्य निर्मल भट्टराईले स्वागत गरेको कार्यक्रममा कोषका कोषाध्यक्ष युवराज निरौलाले कार्यविधि सार्वजनिक गरेका थिए ।


संघका महासचिव कुशल खतिवडाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा कोषका दाताहरू तथा बिर्तामोडका व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
राहत कोष सञ्चालन गर्न वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे (राजु) को संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरिएको छ । सदस्यहरूमा विशाल थापा, गोमा भट्टराई, कुशल खतिवडा, युवराज निरौला, तिलोतमा खत्री, रमेश घिमिरे, दिनेश श्रेष्ठ र शत्रुघनप्रसाद गुप्ता छन् ।