२०८२ असार २० शुक्रबार
Jhapa Today
Adv top

मोटरसाइकलमा ब्राउन सुगर ल्याउने मेचीनगरका लामिछाने पक्राउ


बिर्तामोड, असार २० । प्रहरीले झापाको मेचीनगरबाट लागुऔषध ब्राउन सुगर र मोटरसाइकलसहित एकजना युवालाई नियन्त्रणमा लिएको जनाएको छ ।

हिजो राति ९ बजे भारतको सीमावर्ती बजार पानीट्याङ्कीबाट काँकरभिट्टातर्फ आउँदै गरेका मेचीनगर-१४ धाइजन गोलबारी बस्ने २६ वर्षीय सरोज लामिछानेलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लामिछाने रातको समयमा भारतबाट मोटरसाइकलमा नेपाल आएपछि प्रहरीलाई शंका लागेर उनीमाथि जाँच गरेको थियो ।

मे.८ प १५८५ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका उनलाई पुरानो मेचीपुलमा रोकेर जाँच गर्दाे च्यासिसको भागमा रहेको प्वालभित्र सेतो रंगको प्लास्टिकमा ब्राउन सुगर भेटिएको थियो ।

उनको साथबाट ४ ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीसहित मोटरसाइकल इलाका प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

लामिछाने कारोबारी हुन् वा प्रयोगकर्ता मात्र हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । झापामा दैनिक कम्तीमा आधा दर्जन मानिस लागुऔषधसहित पक्राउ पर्ने गरेका छन् ।

पछिल्लो समय कार लिएरै झापाबाहिरका कारोबारीहरु भारतसम्म पुगेर ब्राउन सुगर नेपाल ल्याउँदै गर्दा पक्राउ परिसकेका छन् । उनीहरुले काँकरभिट्टाबाहेक अन्य नाकाको समेत प्रयोग गरिरहेका छन् ।

Adv footer