२०८२ असार २० शुक्रबार
Jhapa Today
Adv top

अर्जुनधारामा भारतीय नम्बर प्लेटका गाडीको बिगबिगी


बिर्तामोड, असार २० । झापाको अर्जुनधारा क्षेत्रमा भारतीय सवारी साधन निर्वाध सञ्चालन हुन थालेको छ । ट्राफिक प्रहरीको बेवास्ताले अर्जुनधारामा भारतीय सवारी साधन प्रयोगकर्ता बढेका हुन् ।

ट्राफिक प्रहरीको बेवास्ताले गर्दा स्थानीयले भारतीय नम्बर प्लेट भएका सवारी साधन प्रयोग गरिरहेका हुन् । स्थानीय बासिन्दाहरूका अनुसार केही महिनायता दैनिकजसो दर्जनौँ भारतीय नम्बर प्लेटका गाडीहरू यहाँ सहज रूपमा आवतजावत गरिरहेका छन् । तर त्यस्ता गाडीहरूको अनुगमन र नियन्त्रणमा सरोकारवाला समेत रहेको ट्राफिक प्रहरी निष्क्रिय देखिएको छ ।

स्थानीयबासी रामबहादुर राई भन्छन्, “यी गाडीहरू कुनै नियम पालना गर्दैनन् । ट्राफिक प्रहरीहरु देखेरै बेवास्ता गर्छन् । कतिपयले त लामो समयसम्म लुकाएर गाडी नेपालमै राखेका छन् ।

नेपालको कानुनअनुसार भारतीय नम्बर प्लेटका गाडीहरू नेपालमा १५ दिनसम्म मात्र राख्न पाइन्छ । सो अवधिपछि थप समय आवश्यक भएमा सम्बन्धित भन्सार कार्यालयमा शुल्क तिरी अनुमति लिएर अधिकतम ६ महिना (१८० दिन) सम्म नेपालमै राख्न सकिन्छ ।

तर, अर्जुनधारा–शनिश्चरे क्षेत्रमा नियमको यस्तो पालना हुन छोडेको देखिन्छ । यता, चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी नियम पनि यहाँ उल्लंघन भइरहेका छन् ।

प्रचलित ट्राफिक ऐन अनुसार नेपाली नागरिकले भारतीय नम्बर प्लेटको गाडी चलाउन चाहेमा अनिवार्य रूपमा भारतीय ड्राइभिङ लाइसेन्स हुनु आवश्यक हुन्छ । तर, केही नेपालीले भारतीय लाइसेन्स वा बिना लाइसेन्स नै गाडी चलाउने गरेको पाइएको छ ।

स्थानीय व्यापारीहरु र सर्वसाधारणले यस अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनीहरूले सडकमा ट्राफिकको उपस्थिति कमजोर भएको र अवैध सवारी व्यवस्थापनमा गम्भीर बेवास्ता भएको आरोप लगाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलले भारतीय सवारी साधनको पटके काटेर नेपालमा सञ्चालन गर्न सकिने बताए । उनले जुन देशमा दर्ता भएको सवारी साधन छ, सोही देशको चालक अनुमतिपत्र अनिवार्य हुनुपर्ने जनाए ।

अर्जुनधाराका स्थानीयले भारतीय सवारी साधनको प्रयोग गरिरहेको बारेमा आफूले पनि सुनेको बताउँदै उनले ट्राफिक प्रहरीले त्यसलाई नियन्त्रणमा लिने जानकारी दिए ।

स्थानीयबासीहरू भने तत्काल निरीक्षण, अनुगमन र कडाइको माग गर्दै छन् । यदि प्रशासनले यथाशीघ्र ध्यान नदिए विदेशी सवारीको अव्यवस्थित सञ्चालनले दुर्घटना, कर छली र सीमा सुरक्षामा समेत गम्भीर असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

Adv footer