
बिर्तामोड, असार २५ । झापाको अर्जुनधारामा महिलहरुको एक समूहको कुटाइबाट अर्की एकजना युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार मृत्यु हुनेमा अर्जुनधारा-४ भाङबारी घर भई हाल शनिश्चरे क्याम्पसनजिक प्रकाश गिरीको घरमा डेरा गरेर बस्ने २२ वर्षीया गरिमा भनिने गंगा राई रहेकी छन् ।


प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अर्जुनधारा-८ बस्ने ३२ वर्षीया सुस्मिता भुसाल, ५४ की मैया श्रेष्ठ, ३८ वर्षीया बबिता विक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदासलाई प्रहरीले पक्राउ गरेको छ ।


हिजो राति ११.३० बजे भोजपुर रामप्रसाद राई गाउँपालिका-६ बैकुण्ठे घर भई अर्जुनधारामा विश्व चौधरीको घरमा डेरा गरेर बस्दै आएकी भुसालले अन्य महिलाको साथमा राईमाथि सामुहिक कुटपिट गरेकी थिइन् ।
आफ्ना श्रीमान् रमेश भुसाल गंगा राईको कोठामा गएको भन्दै सुस्मिता भुसालले साथी भेला गरेर कुटपिट गरेको जनाइएको छ ।


घाइते राईलाई शंकर अस्पताल शनिश्चरेमा सामान्य उपचारपछि थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड भर्ना गरिएको थियो ।

उनको उपचारको क्रममा आज बिहानको राति १ः२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ । मृतकको शव सोही अस्पतालमा रहेको छ ।


प्रहरीले कुटपिटमा संलग्न पाँचजना महिला र सुस्मिता भुसालका श्रीमान रमेश भुसाल समेतलाई नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा ल्याएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।