
बिर्तामोड, असार २६ । लागुऔषध कारोबारी दैनिक पक्राउ परे पनि त्यसको ओसारपसार भने झन् बढिरहेको पाइएको छ । गोली हानेर दुईजना लागुऔषध कारोबारी पक्राउ परेको भोलिपल्टै एकजना भारतीय कारोबारी पक्राउ परेका छन् ।


यसअघि नेपालकै सेवनकर्ताहरु मात्र पक्राउ पर्ने गरे पनि पछिल्लो समय लागुऔषधका कारोबारी भारतीय नागरिकहरु ठुलो परिमाणको लागुऔषधसहित झापामा पक्राउ पर्दै आएका छन् ।


हिजो दिउँसो ३ बजे झापा गाउँपालिका वडा नम्बर १ सुडुघुट्टीमा भारत बिहार किसनगञ्ज सिंगीमारी पञ्चायत वडा नम्बर ५ बस्ने ६० वर्षीय गबरी साहलाई लागऔषधसहित पक्राउ गरिएको हो ।


इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका साहलाई शंका लागेर जाँच गर्दा उनले लगाएको ट्रयाक सुटको देब्रेपट्टिको गोजीमा १०१ ग्राम ६३ मिलिग्राम ब्राउनसुगर भेटिएको थियो ।
उनलाई साइकलसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ ।


झापाका ग्रामीण नाकाहरु हुँदै लागुऔषध भारतीय कारोबारीहरु विभिन्न हुलियामा नेपाल प्रवेश गर्ने गरेका छन् । उनीहरु खासगरी कचनकवल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकाका नाकाहरु हुँदै ब्राउनसुगरको कोरोबार गरिरहेका छन् ।


सीमावर्ती क्षेत्रका नेपालीसँगको सम्पर्क र साझेदारीमा उनीहरुले लागुऔषध नेपाल भित्र्याइरहेका छन् । हालसम्म पक्राउ पर्ने अधिकांश भारतीय नागरिकले ठुलो परिणाममा लागुऔषध ल्याउने गरेका छन् ।

