२०८२ असार २६ बिहीबार
Jhapa Today
Adv top

मध्यरातमा बिर्तामोडमा दुईवटा दुर्घटना; एकजनाको मृत्यु, एकजना घाइते


बिर्तामोड, असार २६ । झापाको बिर्तामोडमा भएका दुईवटा अलगअलग सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

बिर्तामोड-२ रामचोकस्थित सडकछेउमा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो राति १०ः४५ बजे उनलाई कुन सवारी साधनले ठक्कर दियो भन्ने खुलेको छैन ।

मृत्यु हुने व्यक्तिको पनि पहिचान खुलेको छैन । उनलाई गस्तीको क्रममा राति इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी सहायक निरीक्षक सोनेलाल राजवंशीको टोलीले भेट्टाएको थियो ।

अन्दाजी ४० वर्षका गम्भीर अवस्थाका ती पुरुषलाई उपचारको लागि बिर्तासिटी अस्पताल पठाएकोमा अस्पतालमा पुर्याउनासाथ डाक्टरले जाँच गर्दा मृत्यु भइसकेको जनाएका थिए ।

उनको टाउको लगायत शरीरको विभिन्न भागमा चोट देखिएको छ । पहिचान नखुलेको सवारी साधनले ठक्कर दिएर भागेको अनुमान गरिएको छ । मृतकको शव सोही अस्पतालमा रहेको छ ।

त्यस्तै, बिर्तामोड-१ स्थित टाइमलेस होटल परिसरभित्र मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन् । होटलबाट निस्किएका सुदर्शन लिम्बूले राति ११ः३० बजे पार्किङमा राखिएको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

अर्जुनधारा–६ बस्ने १९ वर्षीय लिम्बूले चलाएको प्र.१–०१–०१३ प.१५११ नम्बरको मोटरसाइकल परिसरभित्र रहेको पार्किङ स्थलबाट बाहिर निकाल्ने क्रममा सोही स्थानमा पार्किङ गरी राखेको प्र.१–०१–०१४ प ३८६६ नम्बरको स्कुटरमा ठोक्किएको थियो ।

मोटरसाइकलमा पछाडि बसेका मोरङ सुन्दरहरैँचा २ खुर्साने घर भई हाल बिर्तामोडमा बस्दै आएका १९ वर्षीय रिजन कुँवर मोटरसाइकलबाट लडेर घाइते भएका हुन् ।

उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । टाउकोमा चोट लागेका कुँवरको अवस्था मध्यम रहेको छ । दुवै सवारी साधन नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।

Adv footer