बिर्तामोड, असार २७ । प्रहरीले झापाको भद्रपुर र दमकबाट ११ जना लागुऔषध प्रयोगकर्तालाई लागुऔषध र लागुऔषधजन्य औषधिसहित पक्राउ गरेको छ ।


भद्रपुरमा ६ जना र दमकमा ५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हिजो साँझ ६ बजेदेखि राति ८ बजेसम्म वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भद्रपुर–५ बसपार्कबाट ६ जनालाई नियन्त्रणमा लिएको हो ।


पक्राउ पर्नेहरुमा भद्रपुर-५ भद्रपुर बजार बस्ने २२ वर्षीय रितेश यादव, वडा नम्बर ६ संगमचोक बस्ने २३ वर्षीय राहुल हलुवाई, वडा नम्बर ५ जनताचोक बस्ने २६ वर्षीय भरतकुमार गणेश, गिरीचोक बस्ने २५ वर्षीय विजय यादव, वडा नम्बर ४ मन्त्रीचोक बस्ने २७ वर्षीय राजु राजवंशी र बिर्तामोड-५ भद्रपुर बस स्टेन्ड बस्ने १७ वर्षीय राजन चौधरी रहेका छन् ।


उनीहरुमध्ये दुईजनालाई छोडिएको र चारजनालाई नियन्त्रणमै राखिएको प्रहरी निरीक्षक लोककृष्ण दाहालले जानकारी दिए ।
त्यस्तै, हिजो राति ९ः४५ बजे दमक-८ बालुवाटारमा लागुपदार्थ सेवन गरी स्थानीयसँग झैझगडा गरिरहेका सिटी सफारी चालक वडा नम्बर ५ बस्ने ५२ वर्षीय रोशन सुन्दासलाई इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले सिटीसहित नियन्त्रणमा लिएको छ ।


त्यस्तै, हिजो दिउँसो ४ बजे दमक-४ आस्था कलेज पछाडि बाटोमा प्र.१–०१–०२ ह ३११ नम्बरको सिटी सफारीमा शंकास्पद रुपमा रहेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा दमक-४ बस्ने १९ वर्षीया प्रिया तामाङ, वडा नम्बर ५ बस्ने १९ वर्षीय सुमित सुन्दास, सोही ठाउँ बस्ने २१ वर्षीय प्रविन चेम्जोङ र वडा नम्बर १० सानो बाह्रघरे बस्ने २७ वर्षीय मनोज खनाल रहेका छन् ।


सिटी सफारीमा उनीहरुले राखेको कालो रंगको झोलामा ३५० क्याप्सुल ट्रामाडोल ३५, अनारगन ३५० चक्की बरामद भएको प्रहरीले जनाएको छ ।