
बिर्तामोड, असार २७ । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा विद्यार्थी उत्तीर्ण गराउन नसकेको झापाकै सबैभन्दा पुरानो बिर्तामोडको सगरमाथा बोर्डिङ स्कुल बन्द भएको छ ।


करिब ४० वर्ष सञ्चालन गरिएको सो विद्यालय यो शैक्षिकसत्रदेखि बन्द भएको विद्यालयका सञ्चालक मोहन सिटौलाले जानकारी दिए । विद्यालय सञ्चालकले चलाउन नसकेर विद्यालय बन्द गरेका हुन् ।


झापाको पहिलो संस्थागत विद्यालयको रुपमा २०४२ सालमा बिर्तामोडमा सो विद्यालय स्थापना भएको थियो । शिक्षासेवी स्वर्गीय हरिकुमार प्रसाईंलगायतले बिर्तामोडमा सो विद्यालय खोलेका थिए ।


संस्थापकहरुको कार्यकालमा शतप्रतिशत नतिजा निकालेपछि सगरमाथा आवासीय सेकेन्डरी स्कुलले राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको थियो । सगरमाथाले जिल्लामा मात्र नभएर देशभरि नै ख्याति कमाएको थियो ।
पहिलाका संस्थापकहरुले छोडेर २०६४ सालदेखि सो विद्यालय सिटौलाले बिर्तामोडमा सञ्चालन गरेका थिए । सिटौलाले लिएपछि सुरुवात ताका राम्रै चले पनि पछिल्लो समयमा न्यून विद्यार्थी थिए ।


राम्रो पढाइ नभएका कारण विद्यार्थीहरुले राम्रो नतिजासमेत निकाल्न सकेका थिएनन् । यस वर्षको एसइइमा सो विद्यालयको रिजल्ट शून्य भएको थियो । सगरमाथाका तर्फबाट तीनजना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।


त्यस्तै, कक्षा ८ मा छजना विद्यार्थी अध्ययनरत रहेकोमा पाँचजनाले परीक्षा दिएका थिए । त्यसमध्ये दुईजना मात्र उत्तीर्ण भएका छन् ।


नयाँ शैक्षिकसत्रदेखि विद्यालय बन्द गरी सगरमाथाले आफ्ना विद्यार्थी अन्य विद्यालयमा ट्रान्सफर गरेको छ । कक्षा १० का विद्यार्थीहरु टावर टेम्पल स्कुलमा गएका छन् ।
विद्यालय नचलेपछि सगरमाथा स्कुल बन्द गरिएको सञ्चालक सिटौलाले पुष्टि गरे । उनले आफ्ना विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अन्य विद्यालयमा पठाइएको जानकारी दिए ।
एक समयमा करिब एक हजार दुई सय विद्यार्थी र ११० जना शिक्षक कर्मचारी रहेको आफ्नो विद्यालयमा पछिल्लो समय विद्यार्थी नभएपछि सञ्चालन गर्न नसकिएको उनले बताए । शिक्षा क्षेत्रमा लामो समयदेखि लागेका सिटौलाले यसअघि पूर्वाञ्चल उच्च मावि चलाएका थिए ।