
बिर्तामोड, असार २८ । मनसुनको सुरुवाती पहिलो महिनामा मुलुकभर सरदर भन्दा कम वर्षा भएको छ । जुन महिनासम्म सामान्य वर्षा भए पनि जुलाईको पहिलो १० दिनमा वर्षा हुने दरमा कमी आएको देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागले जुन १ तारिखदेखि जुलाई १० सम्मको मनसुनको अवस्था विश्लेषण गरी जारी गरेको पुनरावलोकनमा सरदरभन्दा कम वर्षा भएको देखिएको हो । सरदर वर्षा भन्नाले कुनै केन्द्रमा मापन गरिएको ३० वर्षको औसत वर्षालाई जनाउँछ ।

यस वर्षको मनसुन मे २९ तारिकमा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो । मनसुन आगमन हुने सरदर मिति जुन १३ तारिख हो तर यस वर्षको मनसुन आगमन सरदरभन्दा छिटो सुरु भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका मुलुकभर ५ सयभन्दा बढी वर्षा मापन केन्द्रहरू छन् । विभागले दैनिक अनुगमन गरेका २० केन्द्रहरू मध्येको तथ्याङ्कहरूका आधारमा मधेस प्रदेशमा सरदरभन्दा कम र सुदूरपश्चिम प्रदेशका केही स्थानमा सरदरभन्दा बढी वर्षा भएको देखिएको छ । समग्रमा विश्लेषण गर्दा मुलुकभर यो अवधिमा सरदर भन्दा कम वर्षा भएको हो ।

मुलुकभर मनसुन अवधिभर १४ सय ७९ दशमलव ७ मिलिमिटर वर्षा हुनुलाई सरदर वर्षा मानिन्छ । अहिलेसम्म सरदर वर्षाको जम्मा २६ दशमलव ४ प्रतिशत मात्रै वर्षा भएको छ ।

जुलाई ११ सम्मको सरदर वर्षा ३९१ दशमलव ३ मिलिमिटर अर्थात् ८५ प्रतिशत भएको छ । यो अवधिमा गत वर्ष ४६० दशमलव ३ मिलिमिटर वर्षा भएको थियो ।
मनसुन प्रक्षेपणको विश्लेषण मनसुन अवधिभरलाई गरिने भएकाले अहिले नै निष्कर्षमा पुग्न नमिल्ने भए पनि नमुना अनुगमनका वर्षामापन केन्द्रको तथ्याङ्कहरूका आधारमा यो अवधिमा सरदरभन्दा कम वर्षा भएको भन्न सकिने विभागका प्रवक्ता एवम मौसमविद् विभूति पोखरेलले बताइन् ।
विभागले दैनिक अनुगमन गरेका वर्षामापन केन्द्र मध्येको विराटनगर विमानस्थलको वर्षामापन केन्द्रका अनुसार जुलाई १ देखि ११ सम्म ४ दशमलव ६ प्रतिशत वर्षा भएको छ । जुन १ देखि जुलाई ११ सम्म २११ दशमलव २ मिलिमिटर वर्षा भएको छ ।
विराटनगर विमानस्थलको सरदर वर्ष १४ सय ६ दशमलव २ मिलिमिटर हो । सन् २०२४ को मनसुन अवधिमा २१ सय ४२ दशमलव ४ मिलिमिटर वर्षा भएको थियो । यो १५२ प्रतिशत थियो ।