२०८२ असार २८ शनिबार
Jhapa Today
Adv top

गोमेन्द्रमा बिए एलएलबी र एआइ सम्बन्धी पढाई हुने


बिर्तामोड, असार २८ । झापा बिर्तामोडको पुरानो र प्रतिष्ठित शैक्षिक संस्था गोमेन्द्र बहुमुखी महाविद्यालयले बिए एलएलबी र आर्टिफिसियल इन्टिलिजेन्स (एआइ) सम्बन्धी अध्यापन गर्ने भएको छ ।

महाविद्यालयले यसै शैक्षिकसत्रदेखि स्नातक तहमा कानुन र एआइ सम्बन्धी अध्यापन गर्न लागेको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिटेक इन एआइको अध्यापन गर्न लागिएको हो ।

प्रविधिले फड्को मारेसँगै विश्वमा एआइको प्रयोग बढेकाले गोमेन्द्रले उक्त कोर्स पढाउन लागेको महाविद्यालयका प्राचार्य डक्टर रुपकप्रसाद खनालले जानकारी दिए ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर पढाउन लागिएको एआइ कोर्सको लागि ४८ जना विद्यार्थीको कोटा रहेको प्राचार्य खनालले जानकारी दिए । उनका अनुसार सो कोर्समा आठवटा सेमेस्टारमा पढाई हुने र ६ लाख २३ हजार शुल्क लाग्नेछ ।

कलेजले यसै शैक्षिकसत्रदेखि बिए एलएलबी कोर्स समेत अध्यापन गर्न लागेको छ । राजश्री जनक विश्वविद्यालयको सम्बन्धनमा सो कोर्स अध्यापन हुन लागेको गोमेन्द्र कलेजकी प्रमुख सरस्वती भुर्तेल खनालले जानकारी दिइन् ।

प्लस टुमा जुनसुकै विषय पढेका विद्यार्थीले बिए एलएलबी अध्ययन गर्न पाउनेछन् । १० वटा सेमेस्टारको ६ लाख शुल्क लाग्ने कलेजले जनाएको छ । सो कोर्सका लागि ४० जना विद्यार्थी कोटा रहेको छ ।

सबै कार्यक्रममा भर्ना भएका विद्यार्थी संख्याको आधारमा १० प्रतिशत विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गरिने, सेमेस्टार टप एकजनालाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने विद्यालय प्रशासनले जनाएको छ ।

२०५३ सालमा स्थापित कलेजमा बिसिए इन आइटी, बिबिए, एमबिए, एमसिए, एमसिए इन आइटी अध्यापन भइरहेको छ ।

Adv footer