२०८२ असार ३१ मंगलबार
Jhapa Today
Adv top

झापाका सहरमा चल्छन् भारतीय नम्बर प्लेटका ट्याक्सी, प्रशासन मौन


मेचीनगर, असार ३१ । भारतीय नम्बर प्लेट भएका सवारी साधनहरूले झापाका सीमावर्ती सहर काँकरभिट्टा, धुलाबारी, भद्रपुर मात्र होइन बिर्तामोडसम्म भाडामा सेवा दिँदै आए पनि प्रशासन मौन छ ।

होटल मेची क्राउन, क्यासिनो भेगसदेखि बिर्तामोडको होटल किंग्सबरी र सेभेन हर्सेज क्यासिनो समेत यस्ता गतिविधिको केन्द्र बन्दै गएका छन् । तर, स्थानीय प्रशासन, सुरक्षा निकाय र भन्सार कार्यालय तीन वर्षदेखि मौन रहँदै आएका छन् ।

नेपालको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार विदेशी नम्बर प्लेट भएका गाडीले केवल अस्थायी भन्सार प्रज्ञापनसहित व्यक्तिगत प्रयोजनका लागि सीमित अवधिसम्ममात्र नेपालमा सञ्चालन गर्न पाउँछन् ।

व्यावसायिक प्रयोजनमा प्रयोग गर्न भने स्पष्ट रूपमा निषेध गरिएको छ । तर, भारतीय सवारी साधनहरू झापामा खुलेआम पर्यटक ओसारपसार, होटल–क्यासिनोका अतिथि सेवा, सामान ढुवानी तथा ठुला व्यापारिक प्रयोजनका लागि प्रयोग भइरहेका छन् ।

होटल मेची क्राउन र क्यासिनो भेगस मात्र नभई बिर्तामोडस्थित होटल किंग्सबरी र सेभेन हर्सेज क्यासिनोको वरपर पनि भारतीय नम्बर प्लेट भएका सवारी साधनहरू नियमित चलिरहेका छन् । क्यासिनो व्यवसायसँग प्रत्यक्ष जोडिएका यी गाडीहरू निर्वाध सञ्चालन भइरहेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार र जिल्ला प्रशासन कार्यालय सबैले सबैलाई यो अवस्थाको जानकारी हुँदाहुँदै पनि बेखबरझैँ बस्नु र कुनै कदम नचाल्नुले आर्थिक र राजनीतिक प्रभावको आशंका गरिएको छ ।

भारतीय गाडीहरू बिनाकर दस्तुर व्यावसायिक प्रयोजनमा प्रयोग हुँदा नेपाल सरकारलाई करोडौँको राजस्व गुमिरहेको छ । स्थानीय भाडाका ट्याक्सी, माइक्रोबस व्यवसायी भने रोजगारी गुमाउँदै छन् । यसले साना व्यवसायहरू धरासायी बनाइरहेको छ ।

भारतीय नम्बर प्लेटका गाडीहरूमार्फत लाखौँ भारतीय रुपैयाँ, मदिरा, क्यासिनो सामग्री र अन्य ठुला कारोबार हुने सामान पनि ओसारपसार समेत हुने गरेको बुझिएको छ । भन्सार जाँचको दायराबाहिर यस्ता सवारी साधनहरू सञ्चालन हुँदा सीमावर्ती सुरक्षामा पनि गम्भीर प्रश्न उठेको छ ।

नेपालको संविधान र प्रचलित कानुनअनुसार विदेशी सवारी साधनको व्यावसायिक प्रयोग पूर्णतः गैरकानुनी हो । तर, तीन वर्षदेखि प्रशासन मौन रहँदा गैरकानुनी गतिविधि झनै संस्थागत बन्दै गएको छ ।

Adv footer