
बिर्तामोड, साउन २ । झापाको बाह्रदशीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको स्कुटर ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ ।


स्कुटरमा रहेकी कचनकवल-३ की उर्मिला राजवंशीको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसअघि असार २६ गते उनको छोरा ७ वर्षीय आयुषको उपचारको क्रममा मृत्यु थियो ।

सो दुर्घटनामा दुईजना चालकको दुर्घटना भएकै दिन असार २५ गते मृत्यु भइसकेको छ । उनीहरुको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक भारत किसनगञ्जस्थित दिघलबैंकका २५ वर्षीय सुरज टुडु छन् । अर्का मृतक स्कुटर चालक कचनकवल-३ बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशी रहेका छन् ।

स्कुटरको पछाडि रहेकी उर्मिला श्रीप्रसादकी बुहारी हुन् । उनको बिएन्डसी अस्पलाल बिर्तामोडमा उपचार भइरहेको थियो । उनको आज ०१ः३५ बजे मृत्यु भएको हो ।

बाह्रदशी-१ खयरबारीको भित्री सडक खण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बिआर ३७ एजेड ६४४० नम्बरको भारतीय मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो ।
