२०८२ साउन ४ आइतबार
Jhapa Today
Adv top

भोलिदेखि पूर्वमा मनसुन थप सक्रिय हुने


बिर्तामोड, साउन ३ । केही दिनयता हल्का वर्षा भइरहेको पूर्वी तराईबाट भोलि बिहान सबेरैदेखि थप सक्रिय हुने मनसुनी प्रणालीले देशभर वर्षा गराउने मौसमविद्ले बताएका छन् ।

न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतर्फ सर्ने र वर्षा गराउने प्रणाली पनि नेपालतर्फ प्रवेश गरिरहेकोले वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

उनका अनुसार भोलि पूर्वी नेपाल हुँदै लुम्बिनी प्रदेशसम्म र पर्सि पश्चिम नेपालमा धेरै ठाउँमा ठुलो पानी पर्ने सम्भावना समेत रहेको छ । बदली भने देशभर हुनेछ ।

तर, यसपटक पनि मधेश प्रदेशमा भने ठुलो पानीको सम्भावना कम देखिएको मानन्धरले जानकारी दिइन् । यो वर्ष मधेशमा पानी एकदमै कम परेको छ ।

हिजोसम्मको अवस्थामा मधेशमा समेत वर्षाको सम्भावना रहे पनि प्रणालीमा आएको फेरबदलले मधेशमा ठुलो वर्षाको सम्भावना कम हुँदै गएको र भइहालेमा पनि सीमित ठाउँमा मात्रै हुने उनको भनाइ छ ।

भोलि आइतबार र पर्सि सोमबार वर्षा भए पनि सोमबार राति वा मङ्गलबार बिहानदेखि नै वर्षा कम भएर मौसम खुल्ने सम्भावना देखिएको मौसमविद् मानन्धरले बताइन् ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार बागमती, कोशी र गण्डकी जलाधारमा ठुलो वर्षाको सम्भावना छ । उनले भोलि र पर्सि खासगरी पृथ्वीराजमार्ग, बिपी राजमार्ग र बुटवल–नारायणगढ खण्डमा सकेसम्म यात्रा नगर्न सुझाव दिएका छन् ।

Adv footer