२०८२ साउन ४ आइतबार
Jhapa Today
Adv top

चियाको निर्यात बढ्यो, अलैँचीको घट्यो


बिर्तामोड, साउन ४ । झापाको काँकरभिट्टा नाकाबाट चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को तुलानामा २०८१/८२ मा चियाको निर्यात ४०.५ प्रतिशले बढेको हो ।

आर्थिक वर्ष २०८०/८१ मा काँकरभिट्टा नाकाबाट १ करोड १४ लाख ९२ हजार ७५६ किलो चिया निर्यात भएकोमा गत आर्थिक वर्ष २०८१/८२ मा १ करोड ४४ लाख ६३ हजार ३६५ किलो चिया निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ६ करोड ६४ लाख ७८ हजार मूल्यबराबरको चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।

त्यस्तै, नगदेबालीको रुपमा रहेको अलैँचीको निर्यात भने घटेको छ । आर्थिक वर्ष २०८०/०८१ मा ७ अर्ब ४६ करोड ६८ लाख ७६ हजार मूल्यबराबरको ४७ लाख १० हजार ८४० किलो अलैँची निर्यात भएकोमा आर्थिक वर्ष २०८१/०८२ मा ७ अर्ब १८ करोड १० लाख ७३ मूल्यबराबरको ३९ लाख ८९ हजार २५० किलो अलैँची निर्यात भएको सूचना अधिकारी हुमागाईंले बताए ।

काँकरभिट्टा नाकाबाट बढी निर्यात हुने मालबस्तुहरुमा फलामे पाता, प्लाइउड, भेनियर सिट, कुच्चो, डग फुड, मोलासिस, सिमेन्ट क्लिङकर र अदुवा रहेका छन् ।

Adv footer