
बिर्तामोड, साउन ५ । कतारको दोहामा प्रकृतिक फूलको व्यवसाय गर्दै आएको झापा बिर्तामोडका विष्णु कार्कीले आफ्नो जन्मदिन बृद्धाश्रममा मनाएका छन् ।

आज परेको कार्कीको जन्मदिन बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रममा ज्येष्ठ नागरिकहरुसँग मनाइएको हो ।

आफ्ना आमाबुवा र परिवारका अन्य सदस्यहरुसहित बृद्धाश्रम पुगेका कार्कीले त्यहाँ आश्रित सबै ज्येष्ठ नागरिक र कर्मचारीसहित ५० जनालाई खाना खुवाएका थिए ।
कार्कीले आफ्नो जन्मदिनको अवसरमा बृद्धआश्रममा एक दिनको बिहानको भोजन सौजन्य गरेको रोपकार तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

दोहामा २२ वर्षयता फूलको व्यवसाय गर्दै आएका कार्कीले सो आश्रममा दोस्रोपटक आफ्नो जन्मदिन मनाएका हुन् । होटलमा फजुल खर्च गरेर जन्मदिन मनाउने बढिरहेका बेला कार्कीले सेवाभावले आश्रममा जन्मदिन मनाएका हुन् ।

कार्कीले आश्रममा जन्मदिन मनाउन पाउँदा भावुक र खुसी भएको बताए । आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई खाना खुवाउन पाउँदा आफूलाई सन्तोष मिलेको उनले बताए ।


परिवारसहित दोहामा बसोबास गर्दै आएका कार्कीको भिओला फ्लोरा नामको फूल व्यवसाय रहेको छ । कतारको उत्कृष्ट र स्थापति सो फूल पसलमा विभिन्न प्रजातिका फूलका साथै चक्लेट र क्यान्डल उपलब्ध छन् ।
