बिर्तामोड, साउन ६ । झापामा विभिन्न पालिकामा भएका सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कमल गाउँपालिका-६ मंगलबारेस्थित पाडाजुँगी–गौरादह सडकखण्डमा भएको दुर्घटनामा कमल-५ का ७६ वर्षीय कृष्णप्रसाद खनालको मृत्यु भएको हो ।

दही चोकबाट पाडाजुँगीतर्फ आउँदै गरेको मे.१ च ८२५ नम्बरको मारुती भेनलाई सोही दिशातर्फ जाँदै गरेको को.१८ प ३७७ नम्बरको मोटरसाइकले पछाडिबाट ठक्कर दिँदा घाइते भएका खनालको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक कमल ५ बस्ने १६ वर्षीय सुजन खनाल सकुशल रहेका छन् । टाउको र निधारमा चोट लागेका खनाललाई भेन चालक कमल-४ बस्ने ५१ वर्षीय हेमराज राईले उपचारको अस्पताल लगेका थिए ।

त्यस्तै, शिवसताक्षी-६ हवल्दारचोकमा मे. १ ह ७११४ नम्बरको सिटी सफारी र बा. ४८ प ६३९ नम्बरको मोटरसाइकल ठोक्किँदा चारजना घाइते भएका छन् ।

घाइते हुनेहरुमा मोटरसाइकल चालक शिवसताक्षी-७ चन्द्रडाँगीका २७ वर्षीय दिपेश राजवंशी, मोटरसाइकलमा पछाडि चढेका २४ वर्षीय रमेश राजवंशी, सिटी सफारी चालक शिवसताक्षी-६ का ५० वर्षीय चन्द्र महरा र सिटी सफारीमा चढेका शिवसताक्षी-५ का ६० वर्षीय बमबहादुर दर्जी रहेका छन् ।

घाइतेहरुलाई स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, कमल-४ ज्योतिचोकमा पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको बा.प्र.०२–०५० प ३९७३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा मोटरसाइकल चालक रौतहट चन्द्रपु-४ का २३ वर्षीय रोशन खड्का घाइते भएका छन् ।
गम्भीर घाइते खड्कालाई उपचारको लागि आम्दा अस्पताल दमक पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।