२०८२ साउन १२ सोमबार
Jhapa Today
Adv top

बिचार्नी–हेल्दुबारीको निन्दा नदीमा बन्यो झोलुङ्गे पुल


मेचीनगर, साउन १२ । झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा चार करोड ३८ लाख रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ ।

सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल ३५० मिटर लामो र पाँच फिट चौडाइको रहेको छ । पुलले बिचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ ।

उक्त स्थानमा कुनै पुल नहुँदा वर्षौंदेखि ज्यामिरगढीका बासिन्दा बिचार्नी–हेल्दुबारी ओहोरदोहोर गर्न बर्खा याममा पाँच किलोमिटर उत्तरमा रहेको पूर्वपश्चिम राजमार्ग वा त्यति नै दूरीमा रहेको भद्रपुरको घुमाउरो बाटो धाउन बाध्य थिए ।

पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालि काठमाडौँबीच २०७९ असार २२ गते ठेक्का सम्झौता भएको थियो ।

प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा र कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले २०७९ मंसिर १० गते पुलको संयुक्त शिलान्यास गरेका थिए ।

बजेट सुनिश्चित नहुँदा सम्झौतामा उल्लेखित म्याद २०८१ पुस २७ गतेसम्म पुलको निर्माण हुन सकेन । सरकारले सुरुमा ७४ लाख रुपैयाँ मात्र भुक्तानी गरेपछि काम रोकिएको थियो ।

बजेट सुनिश्चिततासहित २०८२ पुस २६ गतेसम्ममा निर्माण गरिसक्ने गरी एक वर्ष म्याद थपेर पुल निर्माणको काम अघि बढेको थियो ।

थानी कन्स्ट्रक्सन प्रालिका इन्जिनियर शेखर रायमाझीले पुलको निर्माण कार्य सम्पन्न भएको बताए । उद्घाटन हुन बाँकी रहे पनि स्थानीयबासीले पुलको प्रयोग गर्न थालिसकेका छन् ।

Adv footer