
बिर्तामोड, साउन १७ । पूर्वी पहाडबाट झापाको काँकरभिट्टा हुँदै वैदेशिक रोजगारको नाममा बेचबिखनका लागि भारत पुर्याइएका सातजना किशोरीलाई भारतीय प्रहरीले उद्दार गरेको छ ।

भारतीय प्रहरीका अनुुसार विशेष सूचनाको आधारमा ४१ औँ बटालियन ‘सि’ कोय पानीट्याङ्कीको क्युआरटीले एक नेपालीसहित दुईजना मानव तस्कारलाई पनि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्जिलिङस्थित तोरीबारी, बेलगाछीका ४१ वर्षीय दिपेश गुरुङ र मकालु-३ संखुवासभाका ६१ वर्षीय जपन गुरुङ छन् । उनीहरुलाई पानीट्याङ्कीबाट पक्राउ गरिएको हो ।


प्रहरीले उनीहरुलाई धरान हुँदै पानीट्याङ्कीस्थित बोर्डर पोस्टभन्दा १५० मिटर टाढा सडकबाटै पक्राउ गरेको हो । सातजना किशोरीलाई उनीहरुकै साथबाट उद्दार गरिएको हो । उनीहरु सबै संखुवासभाका हुन् ।

जपन र दिपेशले आधार, प्यान कार्ड र राहदानीजस्ता कागजातहरू बनाउन किशोरीहरुलाई सिलिगुडी लैजाने तयारी गर्दैगर्दा पक्राउ परेका हुन् । जपनले संखुवासभामा किशोरीका अभिभावकसँग हङकङ पठाउने भन्दै एक लाख रुपैयाँ लिएर काँकरभिट्टा हुँदै उनीहरुलाई पानीट्याङ्की पुर्याएका थिए ।

जपनले पानीट्याङ्कीका रतन बर्मनसँग मिलेर फर्जी कागजातहरु बनाउँदै आएका थिए । प्रहरीले बर्मनलाई भने पक्राउ गरेको छैन । जपनका मोबाइलमा नक्कली कागजात र किशोरीका धेरै फोटो भेटिएका छन् ।

उनले गुरुङ थर भएका नक्कली नामबाट केही केटीहरूको कागजात बनाएको थप खुलासा भएको छ । उनले यसअघि पनि धेरैपटक यस्तै काम गरेको स्वीकार गरेका छन् । उनले हङकङमा बस्ने आफ्नो एक छोरा रहेको र सबै कुरा व्यवस्थापन गर्ने बताए ।
प्रहरीका अनुसार दिपेश ट्याक्सी चालक हुन् । उनको मुख्य काम सीमाबाट किशारीहरूलाई भेला पारेर सिलिगुडीमा लैजानु रहेको प्रहरीले बताएको छ ।
उनी विगत २–३ वर्षदेखि यो काम गर्दै आएका थिए । दिपेशका अनुसार जपन गुरुङले यसअघि धेरैपटक ठुलो संख्यामा नेपाली किशोरीहरूलाई दिल्ली, आसाम र भारतका अन्य भागहरूमा लगेका छन् ।
पक्राउ परेका गुरुङद्व र उद्दार गरिएका सातजना नेपाली किशारीलाई स्वास्थ्य परीक्षणपछि खोरीबारी पुलिस स्टेसनमा बुझाइएको छ ।