
बिर्तामोड, साउन १८ । आज आइतबार देशभर पानी पर्ने सम्भावना रहेको छ । झापामा हिजो राति ८ बजेदेखि नै लगातार पानी परिरहेको छ । अहिले बिहान पनि कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।


जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । जसको प्रभावले देशभर साधारणतया बदली रहेको छ ।

आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।


महाशाखाका अनुसार बिहान मधेश प्रदेशका आठवटै जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी तराई भूभागका धेरै स्थानहरूमा तथा पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।
