
बिर्तामोड, साउन १८ । झापाको अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा पछिल्लो २४ घण्टामा १२९ मिलिमिटरसम्म वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


योसँगै कचनकवल, बाह्रदशी, झापा, गौरीगञ्ज गाउँपालिका र कनकाई नगरपालिकाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । अविरल वर्षासँगै झापाका विभिन्न स्थानमा बाढीको जोखिममा परेका हुन् ।

बाढी सतर्कता प्रणालीअन्तर्गत बाह्रदशी–३ को भागुडुब्बा र कचनकवल–५ को पिण्डालबारीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको सहयोगमा जडान गरिएका साइरन बज्न थालेको जनाइएको छ । साइरनले बासिन्दालाई समयमै सुरक्षित स्थानतर्फ जान सघाउने अपेक्षा गरिएको छ ।


त्यस्तै, साइरन प्रणाली झापा गाउँपालिकाको कुवाडी र गौरीगञ्ज–५ को कुञ्जीबारीमा समेत सञ्चालनमा छन् । झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जु थपलियाले सचेतना र पूर्वतयारीमार्फत जोखिम न्यूनीकरणमा ध्यान दिइरहेका बताइन् ।

त्यस्तै, कनकाई नदीको सतह उच्च रहेको र कनकाई नगरका आसपासका क्षेत्र सतर्क अवस्थामा रहेको नगरपालिकाले जनाएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय तहसँगको समन्वयमा उच्च जोखिममा रहेका स्थानको तत्काल अनुगमन, आवश्यकतानुसार उद्धार तथा राहतको तयारी गरिएको छ ।

भारी वर्षासँगै एसियन हाइवेअन्तर्गत मेचीनगर नगरपालिकाभित्रको कालीखोलाको डाइभर्सन, इलिफेन्ट क्रसिङ डाइभर्सन र माई नदी पश्चिमको भालुखोलाको डाइभर्सनमा क्षति पुग्न सक्ने उच्च सम्भावना रहेकाले एसियन हाइवे आयोजनाले समेत आफ्ना कर्मचारी र जेसिभी र स्काइभेटरलाई समेत तयारी अवस्थामा राखेको आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तले बताए ।
विशेषज्ञहरूले बाढीको सम्भावित जोखिम क्षेत्रहरू कचनकवल, झापा, बाह्रदशी, गौरीगञ्ज, कनकाईलगायतका तटीय र नदी छेउका बस्तीमा बसोबास गरिरहेका नागरिकलाई तत्काल सतर्कता अपनाउन सुझाव दिएका छन् ।