
बिर्तामोड, साउन २६ । झापाबाट खोटाङ जाँदै गरेको बस र पूर्व आउँदै गरेको माइक्रो बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुईवटा सवारीसाधन आपसमा जुधेका थिए ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा आज बिहान भएको दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटना हुँदा माइक्रो बसमा रहेकी एक महिलासहित तीनजनाको मृत्यु भएको हो ।

आज बिहान ७ः१५ बजे भएको दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मृतक र घाइतेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । घाइतेहरूलाई उपचारको लागि सुनसरी र मोरङको विभिन्न अस्पतालमा पठाइएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट खोटाङ दिक्तेलतर्फ जाँदै गरेको मे. १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र. २–०१–००१ ज ००४७ नम्बरको माइक्रो बस ठक्कर खाएका हुन् ।

प्रहरीले बस चालक झापा अर्जुनधारा–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना र कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाबाट प्रहरी नायव उपरीक्षक सरोज सिंह घटनास्थल पुगेका थिए ।