बिर्तामोड, साउन २६ । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन् । हात्तीले चारवटा घर भत्काएको छ । हात्तीले घर भत्काउँदा पर्खालले लागेर एकजना महिला घाइते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो राति हल्दिबारी गाउँपालिका–३ बाघडाँडामा तीनवटा जंगली हात्तीहरु आएर निमाई बानियाँको घर र भान्साघर भत्काएर क्षति पुर्याएको छ ।
हात्तीको सोही समूहले हिरालाल मिश्रीको खरको छाना र बाँसको टाटीबेरा भएको भान्सा घर भत्काएको प्रहरीले जनाएको छ ।
त्यस्तै, हल्दिबारी–२ भेलागुडी सिमसारमा तीनवटा जंगली हात्ती आएर खेम गौतमको टिनको छाना र बाँसको टाटीबेरा भएको घर भत्काएको छ ।
हात्तीको सोही समूहले नरेश खड्काको इँट्टा सिमेन्टले बनेको टिनको छाना भएको एक तले घरको पूर्वपट्टिको वाल भत्काउँदा उनको श्रीमती अम्बिका खड्का घाइते भएकी छन् ।

 
            

 
    
     
    
     
    
     
    
     
    
     
    
    
 

 
    