बिर्तामोड, साउन २८ । झापाको भद्रपुरमा लागुऔषध ब्राउन सुगरसहित एकजना युवक पक्राउ परेको प्रहरीले जनाएको छ । उनी हिजो पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–७ गार्मेन्ट चोकका २९ वर्षीय सागर पौडेल छन् । प्रहरी अनुसार साँझ ५ः४० बजेको समयमा उनी प्रहरीको फन्दामा परेका हुन् ।

सीमा नाका भद्रपुर नगरपालिका–५ स्थित मेची पुलमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गर्दा उनी पक्राउ परेका हुन् ।

पौडेललले चलाएको मे. ७ प २८९१ नम्बरको मोटरसाइकलसहित उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ ।

जाँचको क्रममा मलद्वारभित्र लुकाइछिपाई ल्याउँदै गरेको ५ ग्राम ७ मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
