
बिर्तामोड, साउन २८ । युवा उद्यमीहरुको साझा संस्था नेपाली युवा उद्यमी मञ्च झापा शाखाले झापाका युवाहरुलाई उद्यमशीलता सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर मञ्चले बिर्तामोडस्थित आदर्श बैंक्वेटमा विभिन्न १० वटा कलेजका व्यवस्थापन संकायका स्नातक र स्नातकोत्तर तहका विद्यार्थी, उद्यम गर्ने सोचमा रहेका युवा र मञ्चका सदस्यहरुलाई पुँजी, परिपूर्ति र आत्मविश्वासका बारेमा जानकारी गराइएको थियो ।

कार्यशालामा सिए गंगाराम बस्नेतले वित्तीय रणनीति र कोषका मार्गहरूबारे प्रस्तुति दिएका थिए भने सिद्धार्थ बैंकका कोशी प्रदेश प्रमुख सुवास श्रेष्ठले ऋण सुविधा र वित्तीय अनुशासनबारे प्रशिक्षण दिएका थिए ।

त्यस्तै, बीमाविज्ञ विमान श्रेष्ठले उद्यम सुरुवात गर्ने सोचमा भएकाहरुको लागि जोखिम व्यवस्थापनबारे अवगत गराएका थिए । सुरुवाती उद्यमी र व्यवसायीहरुका लागि आवश्यक पर्ने महत्वपूर्ण टिप्सहरु कार्यशालामा दिइएको मञ्चका झापा अध्यक्ष गणेश पौडेलले जानकारी दिए ।


कोष, कानुनको पालना र व्यापार लचिलोपनमा अन्तरक्रियात्मक छलफल भएका थिए । त्यस्तै, नेटवर्किङ अवसर तथा व्यावहारिक सिकाइमा सहभागीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको पौडेलले बताए ।

कार्यक्रमबाट युवा उद्यमीहरुलाई हौशला प्रदान गर्दै आगामी दिनमा उद्यमतर्फ तथा व्यापारतर्फ प्रोत्साहन गर्ने उद्देश्य लिइएको छ । कार्यक्रममो अध्यक्षता मञ्चका अध्यक्ष पौडेलले गरेका थिए ।