
बिर्तामोड, साउन २८ । झापाको शनिश्चरे र खुदुनाबारी जोड्ने बिरिङ खोलाको जीर्ण पक्की पुल बाढीले बगाएको छ । २०६४ सालमा निर्माण भएको सो पुल दुई वर्षअघि भाँसिएको थियो ।

मनसुन सुरु भएपछि यो वर्षको जेठ १३ गतेदेखि बिरिङ खोलाको सो क्षतिग्रस्त पुल पूर्णरुपमा बन्द गराइएको थियो । स्थानीय जनप्रतिनिधि र प्रहरी चौकी शनिश्चरेको पहलमा सवारीसाधन आवागमनमा रोक लगाइएको थियो ।

झापा र इलाम जोड्ने सबैभन्दा छोटो र सजिलो सो मार्गको पुल आज बिरिङ खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पुल निर्माणका लागि पटकपटक आग्रह गर्दा पनि सरकारले बेवास्ता गर्दै आएको छ ।

क्षतिग्रस्त पुल निर्माण नभएपछि अघिल्लो वर्ष पनि सवारीसाधन आवतजावत समस्या भएको थियो । शनिश्चरेबाट पश्चिम मिलडाँडातर्फको बाटो हुँदै सवारीसाधन आवागमन भइरहेको छ ।

आज दिउँसो १२ः३० बजे वर्षाका कारण आएको बाढीले क्षतिग्रस्त रहेको अन्दाजी २०–२५ मिटर पुलको भाग बगाएको हो । २०८० साउन २९ गते अर्जुनधारा-७ स्थित बिरिङ खोलाको पक्की पुल वर्षाका कारण भाँसिएको थियो ।
