२०८२ साउन २९ बिहीबार
Jhapa Today
Adv top

एसइइ मौका परीक्षा आजदेखि


बिर्तामोड, साउन २९ । देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइइ) को मौका परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा भदौ ६ गतेसम्म सञ्चालन हुनेछ ।

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । संस्कृत तथा वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदर्सातर्फ अनिवार्य अरेबिक भाषा तथा अनिवार्य अंग्रेजीको परीक्षा पनि आज सम्पन्न भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक टुकराज अधिकारीका अनुसार यसपटकको मौका परीक्षामा १ लाख ४२ हजार ८५३ विद्यार्थी सहभागी भएका छन् ।

गत २०८१ सालको नियमित एसइई परीक्षा चैत ७ देखि १४ गतेसम्म सञ्चालन भएको थियो। प्राविधिक धारतर्फको परीक्षा भने चैत १९ गते सम्पन्न भएको थियो ।

बोर्डले गत असार १३ गते सार्वजनिक नतिजामा ६१.८१ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएको जनाएको छ ।

बोर्डका तथ्यांकअनुसार १ लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अवर्गीकृत (फेल) भएको थियो । तर, तीमध्ये २४ हजार ७४४ जनाले मौका परीक्षाको फारम नै नभरिदिँदा यसपटकको परीक्षामा सहभागी हुन पाएनन्।

Adv footer