
भद्रपुर, साउन ३० । झापाको भद्रपुरमा फलफूल बेचेर घर फर्किंदै गर्दा लडेर एकजना व्यापारीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भद्रपुरका पुराना फलफूल व्यापारी हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भद्रपुर नगरपालिका-६ निवासी अन्दाजी ७० वर्षीय श्यामलाल मण्डल रहेका छन् ।

हिजो राति ८ः३० बजे भद्रपुर नगरपालिका-३ पुरानो ढाँट नजिकै बिहीबार ज्ञानेचोक हटियाबाट फलफूल बेचेर ठेला चलाएर घर फर्किंदै गरेका उनी अचानक चक्कर लागेर बेहोस भई सडकमा लडेका थिए ।

स्थानीयले देखेर प्रहरी चौकी महेशपुरको सहयोगमा उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पठाएकोमा राति ९ बजे मृत्यु भएको हो ।

मण्डलको झापाचोकमा फलफूल पसल पनि छ । उनी लामो समयदेखि नजिकका हाटबजारमा आफैँ ठेला चलाएर फलफूल बेच्दै आएका थिए ।
