२०८२ साउन ३१ शनिबार
Jhapa Today
Adv top

भारतीय अवरोधले सीमामै रोकिए नेपाली प्लाइउडका ट्रक


बिर्तामोड, साउन ३० । नेपालबाट भारत निर्यात हुने प्लाइउडमा पुनः झमेला सिर्जना गर्दै भन्सारमा रोकिन थालिएको छ । पछिल्लो पटक निकासी भएर भारतको भन्सार कार्यालय पुगेको प्लाइउडको जाँचपास नगरी १२ दिनदेखि रोकिएको हो ।

कोशी प्रदेशअन्तर्गत झापाको काँकरभिट्टा र मोरङको विराटनगर नाकाबाट निकासी भइसकेपछि पानीट्याङ्की भन्सार र जोगबनी भन्सारले ट्रक रोकेर राखिदिएको उद्योगीले गुनासो गरेका छन् । पानीट्याङ्की भन्सारमा आठवटा र जोगबनी भन्सारमा छवटा ट्रक रोकिएको उनीहरूले बताएका छन् ।

उद्योगीका अनुसार भारतको राजस्व अनुसन्धान विभाग (डिआरआइ) ले नेपालबाट निर्यात हुने प्लाइउडमा ब्युरो अफ इन्डियन स्टान्डर्ड (बिआइएस) मान्यताप्राप्त उद्योगले अन्य उद्योगको मालवस्तुसमेत निकासी गरेको आशङ्का गरिएको छ ।

बिआइएस मापदण्ड अनिवार्य गरेपछि केही उद्योगले मात्रै यसको मान्यता पाएका थिए तर बिआइएस मान्यता पाएका उद्योगले अन्य उद्योगका मालवस्तुसमेत निकासी गरेको आशङ्का गर्दै यसको भौतिक जाँच गर्न भन्सारमा रोकिएको बताइएको छ ।

मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा स्थापित ग्रिन प्लाई उद्योगका सञ्चालक दिवाकर राठीका अनुसार भारतले बारम्बार नै नेपालबाट प्लाइउड निर्यातमा अवरोध गर्दै आएको छ ।

वार्षिक निर्यातको ग्राफ बढ्दै गएपछि भारतले बिआइएस अनिवार्य गरेको थियो । उद्योगीले बिआइएस लिएपछि फेरि अर्को झन्झट थप्न खोजिएको आशङ्का उद्योगीले गरेका छन् । राठीले नेपाल सरकारकै तर्फबाट यसमा केही पहल हुन आवश्यक रहेको बताए ।

भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट सात अर्ब १० करोड रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको थियो । अहिले नेपालका आठवटा उद्योगले मात्रै बिआइएस पाएका छन् । यसअघि नेपालबाट भारतमा ३० वटा उद्योगले प्लाइउड निर्यात गर्दै आएका थिए ।

भारतका सरकारी अधिकारीले नेपालमा बिआइएस लिएका उद्योगले अन्य उद्योगको सामानसमेत निर्यात गरेको आशङ्का गरेका हुन् । केही उद्योगले बिआइएस नवीकरण नगरेकोसमेत आरोप लगाइएको छ ।

प्लाइउड निकासी रोक्नुको यकिन नै कारण भने भारतीय पक्षले दिन नसकेको नेपाल प्लाइउड उत्पादक सङ्घका केन्द्रीय सचिव दिनेश चापागाईं बताउँछन् । भौतिक परीक्षण गर्नुपर्ने भनेकोले केही दिनमै सहज हुनेमा आफू विश्वस्त रहेको चापागाईंले बताए ।

Adv footer