२०८२ भदौ १७ मंगलबार
Jhapa Today
Adv top

मोरङबाट मोटरसाइकल चोर्ने दुई झापाली भद्रपुरमा पक्राउ


बिर्तामोड, भदौ ३ । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई झापाको भद्रपुरस्थित सीमावर्ती क्षेत्रबाट हराएको मोटरसाइकलसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरुमा झापा गौरीगञ्ज-५ का २० वर्षीय रोम भन्ने प्रकाश यादव र बिर्तामोड-१ का २० वर्षीय ओमप्रकाश खड्का रहेका छन् ।

उनीहरुलाई भद्रपुर ५ मेचीपुलस्थित चेकप्वाइन्टमा जाँच गर्ने क्रममा मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु हिजो दिउँसो २ बजे पक्राउ परेका हुन् ।

यादव र खड्काले मोरङको रतुवामाई-४ आमबारी चोककी पुष्पमाया खतिवडाको घर कम्पाउन्डमा राखेको को. ३० प ९६७७ नम्बरको मोटरसाइकल चोरेका थिए ।

खतिवडाले मोटरसाइकल चोरी गरेर भद्रपुरतर्फ लगेको सूचनासहित प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसैका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादव र खड्कालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय सिजुवा मोरङ पठाइएको झापा प्रहरीले जनाएको छ ।

Adv footer