
बिर्तामोड, भदौ ४ । झापाको पुरानो पर्यटकीयस्थल दोमुखाले अन्य वर्षको भन्दा गत आर्थिक वर्षमा उल्लेख्य आम्दानी गरेको जनाएको छ । शिवसताक्षीमा रहेको दोमुखा धार्मिक तथा पर्यटन विकास समितिले ८२ लाख बढी आम्दानी गरेको हो ।

पर्यटन विकास समितिको १५ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनमा संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा गएको वर्षहरुभन्दा राम्रो आम्दानी बढेको जनाएको हो । संस्थाले ८२ लाख ८४ हजार १५७ रुपैयाँ आम्दानी गरेको छ ।

साधारण सभामा संस्थाका अध्यक्ष धनप्रसाद लावतीले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै गएका वर्षहरुभन्दा आर्थिक २०८१/०८२ पर्यटन क्षेत्रका धेरै काम भएको र आम्दानी बढ्न सफल भएको बताए । संस्थाले शिवसताक्षी नगरपालिकालाई आम्दानीको ३० प्रतिशत रकम १९ लाख ९५ हजार बुझाएको छ ।

उनले भावी योजनाका रुपमा कनकाई नदीमा दोमुखादेखि चेप्टीसम्म पुग्ने बोटिङ सञ्चालन गर्ने, रात्रिकालीन पर्यटन प्रवद्र्धन गर्न होटल व्यवसायीसँग समन्वय गरेर होमस्टे सञ्चालन गर्ने योजना गरेको बताए ।

त्यस्तै, गैँडे सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरी लभ डाँडामा पर्यापर्यटन सम्बन्धी योजनाका रुपमा कार्यक्रम सञ्चालन गर्ने, माई नदीको तटीय क्षेत्रमा धार्मिक तथा पर्यटकमैत्री विभिन्न मनोरञ्जनात्मक तथा साहसिक खेलहरुको योजना बनाउने उद्देश्य रहेको अध्यक्ष लावतीले जानकारी दिए ।

दोमुखामा आर्थिक वर्ष २०८१/०८२ मा दोमुखा प्रवेशद्वार माईधारमा दुई मुखे गेट, झोलुङ्गे पुल, चिल्ड्रेन पार्कसम्म सडक बत्ती, दोमुखा झल्काउने माछाको स्तब्ध, पार्किङ क्षेत्रमा इन्टरलक ब्लक, रेलिङ आदिको काम भएको प्रतिवेदनमा उल्लेख छ ।
चालु वर्षदेखि दोमुखामा सवारी पार्किङ शुल्क नलिने व्यवस्था गरिएको संस्थाले जनाएको छ । दोमुखाको सांस्कृतिक पार्क लिइँदै आएको प्रतिव्यक्ति ७० रुपैयाँलाई बढाएर १०० रुपैयाँ कायम गरिएको छ ।