
बिर्तामोड, भदौ ४ । नेपाली हिन्दु महिलाहरुलाई तीजले छपक्कै छोपेको बेला बिर्तामोडमा फरक कार्यक्रम भएको छ । तीजमा दर खाने र नाचगान मात्र गर्ने कार्यक्रम भइरहेको बेला आज महिला सशक्तीकरणको कार्यक्रम भएको हो ।

झापा जिल्ला सहकारी संघले झापाली महिलाहरुलाई लक्षित गर्दै उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरेको हो । महिलाहरुको क्षमता अभिवृद्धि, नेतृत्व विकास, आत्मविश्वास लगायतका विषयमा अब्बल बनाउन कार्यक्रम गरिएको हो ।

तीज विशेष उत्प्रेरणात्मक कार्यक्रम नाम दिइएको सो कार्यक्रममा झापाका २०० जनाभन्दा बढी सहकारीकर्मी महिलाहरुको सहभागिता रहेको थियो । उनीहरुले आयोजकलाई धेरै कुरा सिक्न पाएकोमा धन्यवाद दिए ।


नेपाल जेसिजकी प्रशिक्षक रश्मि सिल्पकारले सहजीकरण गरेको उत्प्रेरणात्मक कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं रहेकी थिइन् । उनले महिला नेतृत्वका लागि आफैँ लागिपर्नुपर्ने बताइन् ।

संघकी महिला उपाध्यक्ष तथा महिला उपसमिति संयोजक देवी निरौला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सचिव भवानीप्रसाद दंगालले झापाको सहकारी झलकबारे प्रस्तुति दिएका थिए ।

संघकी सञ्चालक सदस्य देवीमाया अधिकारीले सञ्चालन तथा सदस्य निलाकुमारी दाहालले स्वागत गरेको कार्यक्रममा संघका आवद्ध ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिलाहरुको सहभागिता रहेको थियो ।