२०८२ भदौ १७ मंगलबार
Jhapa Today
Adv top

कनकाईमा करेन्ट लगाएर माछा मार्दा माझीको मृत्यु


बिर्तामोड, भदौ ७ । झापाको कनकाईमा करेन्ट लागेर एकजना युवाको मृत्यु भएको छ । आज बिहान करेन्ट लगाएर माछा मार्ने क्रममा ती युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नम्बर-१ का ३७ वर्षीय पंकज माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । माझी आज बिहान ८ः३० बजे माछा मार्न निस्किएका थिए ।

प्रहरीका अनुसार स्थानीय खहरे खोलामा बिजुलीको पोलबाट करेन्ट लगाएर माछा मार्ने क्रममा उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।

यसैबीच, झापामा एक सातामा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ । दुईजनाको करेन्ट लगाएर माछा मार्दा र एकजनाको पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

गत बुधवार दिउँसो २ बजे कमल-३ खानेपानी टोल बस्ने २१ वर्षीय उज्ज्वल राई र भदौ २ गते मेचीनगर-५ भेटघाट चोक बस्ने २२ वर्षीय सन्दीप राजवंशीको करेन्ट लागेर मृत्यु भएको थियो ।

झापामा साउन महिनामा करेन्ट लागेर पाँचजनाको मृत्यु भएको थियो । गत वर्ष झापामा करेन्ट लागेर १५ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।

Adv footer