२०८२ भदौ १७ मंगलबार
Jhapa Today
Adv top

महँगिँदै तरकारीको भाउ, खुद्रामा उपभोक्तामाथि ब्रह्मलुट


फाइल तस्वीर

बिर्तामोड, भदौ ८ । तीजको दर खाने अघिल्लो दिन बिर्तामोडमा तरकारीको भाउले आकाश छोएको छ । विगत एक महिनादेखि बढ्न थालेको तरकारीको भाउ भदौ पहिलो साता आइपुग्दा झनै महँगिएको छ ।

कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अनुसार बर्खे तरकारीको भाउ अचाक्ली बढेको छ । थोक (होलसेल) मै बढेको तरकारीको भाउ खुद्रासम्म आइपुग्दा उपभोक्तामाथि व्यापारीको ब्रह्मलुट जारी छ ।

खुद्रा व्यापारीहरू भने होलसेलमै भाउ बढेर आएको हुँदा महँगोमा बेच्नुपर्ने बाध्यता रहेको तर्क गर्छन् । तरकारीको मूल्यवृद्धि भएकाले पर्याप्त तरकारी किनेर बेच्नै नसकिने अवस्था रहेको व्यापारीको दाबी छ ।

नेपाली ठुलो टमाटर प्रतिकिलो ६० देखि ६५ रुपैयाँ मूल्य रहेको छ । रातो आलु प्रतिकिलो ३० रुपैयाँदेखि ३५ रुपैयाँ, भारतीय रातो आलुको ३० देखि ३२ रुपैयाँ र सेतो आलुको २६ देखि २७ रुपैयाँ रहेको समितिले बताएको छ ।

कृषि थोक बजार बिर्तामोडमा नेपाली ठुलो टमाटर प्रतिकिलो ४० देखि ४५ रुपैयाँ मूल्य रहेको छ । रातो आलु प्रतिकिलो ४५ रुपैयाँदेखि ५० रुपैयाँ, सेतो आलुको २४ देखि २५ रुपैयाँ रहेको समितिले बताएको छ ।

आज आइतबार आलु, गाँजर, भन्टा, बोडी, तिते करेला, घिरौँला, फर्सी र परवर पनि महँगिएको छ । प्याजको भाउ स्थिर रहेको छ । प्याज प्रतिकिलो अधिकतम ४५ रुपैयाँ पुगेको छ ।

गाँजर १००, बन्दा २०, पहाडी काउली ९५, सेतो मुला ३५, भन्टा लामो ६५, तने बोडी ७०, घिउ सिमी ११०, तिते करेला ६५, लौका ३५, परवल ८५, चिचिन्डो २५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

घिरौला ५५, झिँगनी ९५, च्याउ २१०, पाकेको फर्सी २३, हरियो फर्सी २८, भिन्डी ४५, स्कुस १५, पिँडालु ६५, बरेला (चुच्चे करेला) १२०, रायो साग ३७ रुपैयाँ प्रतिकिलो छ । सबै मूल्य थोक रहेको छ ।

अब चाडबाड पनि नजिकिँदै छ । चाडबाड सुरु हुन थालेपछि तरकारीको भाउ बढाउने आजदेखिको समस्या होइन । यसले चाडबाडमा आम उपभोक्ताको ढाड सेकिने निश्चित छ ।

आकासिँदो मूल्यवृद्धि रोक्न र जनजीवन सहज बनाउन जिम्मेवार निकाय मौन रहँदा र गम्भीर नहुँदा कालोबजारी गर्नेहरूकै हालीमुहाली रहेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।

Adv footer