बिर्तामोड, भदौ ९ । झापाको कचनकवलमा १६ वर्षीया बालिकालाई जंगलमा सामुहिक बलात्कार गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका–७ का ७१ वर्षीय पहलमान पौडेल खत्री र सोही ठाउँका ५५ वर्षीय रत्नबहादुर तामाङ रहेका छन् । उनीहरूले बालिकालाई फकाएर तथा डर देखाएर बलात्कार गरेको बताइएको छ ।

पक्राउ परेका खत्री र तामाङले नजिकैको पाथिभरा सामुदायिक वनमा लगेर बालिकालाई जबरजस्ती करणी गरेका थिए । उनीहरु छिमेकी रहेको प्रहरीको भनाइ छ ।

हिजो आइतबार दिउँसो बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बनियानीले खत्री र तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, बालिकालाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।
