
बिर्तामोड, भदौ १० । बिर्तामोड नगरपालिका-७ बिरान टोल निवासी केशव चाम्लिङको घरमा आगलागी भएको छ । आज बिहान ३:३० बजेतिर लागेको बिहान ५:३० बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

घरमा लागेको आगो बिर्तामोड, भद्रपुर र मेचीनगरको गरी तीनवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट चाम्लिङको काठको घर र काठकै भान्सा पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट लाखौँ धनमाल क्षति भएको अनुमान गरिएको छ ।

क्षतिको यकिन विवरण भने आउन बाँकी छ । घरमा राखेको मकैको खोयामा विद्युत् सर्ट भई सो आगो सल्केको हुनसक्ने आशङ्का गरिएको छ ।

घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा पछिल्लो समय ग्यास लिक भएर पनि आगलागीका घटना बढेका छन् । दुईजनाको मृत्युसमेत भएको छ ।
