
बिर्तामोड, भदौ १० । झापामा नागरिकता प्रमाणपत्रभन्दा राहदानी प्रमाणपत्र लिनेको संख्या धेरै रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयसहित दमक र गौरीगञ्जको इलाका प्रशासन कार्यालयबाट नागरिकता र राहदानी वितरण हुँदै आएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार साउनमा झापामा एक हजार २८९ जनालाई नेपाली नागरिकता प्रमाणपत्र वितरण गरिएको छ । सोही महिनामा दुई हजार ३३३ जनालाई राहदानी प्रमाणपत्र वितरण भएको छ ।

नागरिकतामध्ये वंशजका आधारमा लिनेहरू एक हजार २३० जना छन् भने वैवाहिक अङ्गीकृत ५५ जनाले र गैरआवासीय नागरिकता चारजनाले लिएको निरौलाले जानकारी दिए ।

गत एक वर्षको तथ्याङ्कले समेत नागरिकताको तुलनामा राहदानी लिनेहरू धेरै रहेको देखाउँछ । आर्थिक वर्ष २०८१/८२ मा झापामा २२ हजार ७७७ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको थियो ।

सोही आवमा झापाबाट राहदानी प्रमाणपत्र लिनेको संख्या ३३ हजार २२४ पुगेको निरौलाले जानकारी दिए । गत वर्ष नागरिकताको तुलनामा राहदानी लिनेहरू १० हजार ४४७ ले बढी थिए ।

उक्त आवमा वंशजको आधारमा २२ हजार ४० जनाले, वैवाहिक अङ्गीकृतको आधारमा ६७५ जनाले र गैरआवासीयको आधारमा ६२ जनाले नेपाली नागरिकता प्रमाणपत्र लिएको पाइएको छ ।
नागरिकता र राहदानीको तुलनामा राष्ट्रिय परिचयपत्रको कार्ड लिनेहरू अझ धेरै छन् । साउनमा झापामा पाँच हजार ७६७ जनालाई राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरिएको छ ।
साउन मसान्तसम्म झापामा तीन लाख ६० हजार ७७२ जनाले राष्ट्रिय परिचयपत्रको कार्ड लिइसकेको निरौलाले जानकारी दिए ।