बिर्तामोड, भदौ १० । झापाको मेचीनगरमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेपछि प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । उनलाई आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मेचीनगर-१३ चारआलीमा भाडा बस्दै आएका यज्ञप्रसाद ढकाललाई प्रहरीले पक्राउ गरेको हो । बुद्धशान्ति–३ का ढकालकी श्रीमती ३० वर्षीया कविता चिमरियाले भदौ ८ गते बिहान ११ बजे शौचालयको बलोमा सलको पासो लगाएर आत्महत्या गरेकी थिइन् ।

माइती पक्षले श्रीमान यज्ञप्रसादकै कारण कविताले आत्महत्या गरेको भन्दै प्रहरीमा आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी दिएपछि ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्र खड्काका अनुसार माइती पक्षले जाहेरी दिएपछि यज्ञप्रसादलाई हिजो पक्राउ गरिएको हो । अदालतबाट पाँच दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।

घटना हुनुभन्दा अगाडि सोही दिन बिहान यज्ञप्रसादले मादक पदार्थ सेवन गरेर कवितामाथि आज जे पनि हुनसक्छ भनेर माइती पक्षलाई धम्क्याएको बताइएको छ । प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो ।
