बिर्तामोड, भदौ १४ । झापाको बिर्तामोडमा नचिनेका मानिसहरुको एउटा समूहले हतियार प्रहार गर्दा एकजना घाइते भएका छन् । घटना हिजो राति ११ बजे बिर्तामोड–१० विराटपोखरमा भएको हो ।

सो समूहले सैनिक बजार बस्ने ३९ वर्षीय पुरण राई, सोही ठाउँका ३७ वर्षीय दिनेश देवान, २९ वर्षीय सञ्जीव बरालसहितका युवाहरुलाई हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरु घरतर्फ फर्किरहेको अवस्थामा समूहले पछाडिबाट पुरण राईको टाउकोमा धारिलो हतियारले प्रहार गरेर भागेको थियो ।

घाइते राईलाई उपचारको लागि उनका साथीहरुले बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरेका छन् । टाउकोमा गहिरो चोट लागेका राईको अवस्था मध्यम रहेको छ ।

प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक पदम विष्टको कमाण्डमा टोली खटिएर घटनामा संलग्नहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
