
बिर्तामोड, भदौ १५ । झापाको बिर्तामोडमा औषधि पसलमै औषधिजन्य लागुऔषध बिक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाइै हिजो पक्राउ गरिएको हो ।

बिर्तामोड–२ चैतुबारी बजजारमा रहेको दिवाकर फर्माका सञ्चालक किरण राजवंशीलाई प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बिर्तामोड-२ निवासी ३८ वर्षीय राजवंशीले सञ्चालन गरेको पसलबाट विशेष सूचनाको आधार प्रहरीले शनिबार साँझ ५ बजे ट्रामाडोल ३०० पत्ता (३००० क्याप्सुल) र प्रजेक्स–७५ लेखिएको ३० पत्ता (३०० क्याप्सुल) बरामद गरेको थियो ।

सो पसलमा लागुऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो ।

पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले सो क्षेत्रमा लागुऔषध आपूर्ति गर्दै आएको बुझिएको छ ।
