
बिर्तामोड, भदौ १७ । नेपालबाट बंगलादेश निर्यात हुँदै आएको अम्रिसोको कुचो निर्यातमा रोक लागेको छ । बंगलादेश भन्सारले कुचो निर्यातमा रोक लगाएको हो ।

नेपालबाट कुचो लिएर बंगलादेश गएका १० वटा ट्रक बंगलादेशस्थित बंगलाबन्ध नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयले रोकेको हो ।

नेपालबाट भित्रिएको कुचोले प्लान क्वारेन्टाइनका सर्त र मापदण्ड पूरा नगरेको भन्दै क्वारेन्टाइनमा नै गाडी रोकेको नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनले बताए ।

बंगलादेशको क्वारेन्टाइनले नेपालबाट गएको कुचोमा कुन केमिकल प्रयोग गरिरहेको छ र यसबाट धुलो झर्छ कि झर्दैन भन्ने अनुसन्धान गर्न रोकेको अध्यक्ष जैनको भनाइ छ ।

कार्यालयले प्रत्येक कुचोमा निर्यातकर्ता र कम्पनीको नाम ठेगाना र एक्जिट कोड आदि लेखिएको स्टिकर हुनुपर्ने सर्त राखेको छ । यसअघि बंगलादेशमा अम्रिसोको कुचो भारतबाट गइरहेको थियो । तर भारत–बंगलादेश सम्बन्ध बिग्रिएपछि कुचो निर्यात ठप्प छ ।

भारतले स्थलमार्गको भन्सारबाट बंगलादेशसँगको आयात निर्यातलाई नियन्त्रण गरेपछि कुचो निर्यात बन्द भएको थियो । बंगलादेश सरकारले कुचोको महसुल महँगो दरको ५८ प्रतिशत भएकाले राजस्व गुम्ने भन्दै बर्मासित हुने यसको ग्रे मार्केटलाई पनि नियन्त्रणमा लिएको छ ।
भारत र बर्माबाट बंगलादेशमा कुचो जान बन्द भएपछि नेपालका व्यवसायीले गत आर्थिक वर्षदेखि बंगलादेशमा निर्यातलाई आक्रामक बनाएका हुन् । जसकारण भारतमा भन्दा बंगलादेशमा बढी निर्यात हुन थालेको थियो ।